एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी: २० क्रिकेट प्रतियोगिताको सुरुवाती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका छन्।

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी: २० क्रिकेट प्रतियोगिताको सुरुवाती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका छन्। प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्।
ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनले चार खेलमा १६२.०६ को स्ट्राइक रेटसहित १८८ रन बनाएका छन्, जसमा दुई अर्धशतक सामेल छन्। यसैगरी, पवन सर्राफले १०३ र इमरान शेखले १०० रन पूरा गरिसकेका छन्।
बलिङमा पनि नेपाली खेलाडीको दबदबा देखिएको छ। कर्णाली याक्सका कप्तान सोमपाल कामी तीन खेलमा सात विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। सुदूरपश्चिम रोयल्सका अनिल खरेलले छ विकेट लिएका छन् भने जनकपुर बोल्ट्सका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादवले पनि चार खेलमा छ विकेट लिएर सबैको ध्यान खिचेका छन्। राहुलले यस प्रतियोगितामा 'प्लेयर अफ द म्याच' को उपाधिसमेत जितिसकेका छन्।
विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीले एनपीएलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको बताए। उनले भने, 'जारी एनपीएलको सुरुवाती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ। प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन्। यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो।' जनकपुरका मोइन अलीले राहुल यादवको प्रदर्शनबाट प्रभावित हुँदै उनलाई 'नेपाली मलिङ्गा' को उपमा दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




