एनपीएलमा अहिलेसम्मकै ठूलो अनुबन्धः काठमाडौं गोर्खाजले भित्र्यायो वार्नर
वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूला नाम हुन् । यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले क्रमश कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन् । टि २० क्रिकेटमा वार्नर उनीहरुभन्दा पनि माथिल्लो श्रेणीका खेलाडी मानिन्छन् ।

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ । कारण, विश्वचर्चित एक हाइप्रोफाइल खेलाडी एनपीएल ३ मा जोडिएका छन् ।
उनी हुन् अष्ट्रेलियन सुपरस्टार डेभिड वार्नर । क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनरलाई काठमाडौं गोर्खाजले खरिद गरेको हो ।
त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जालमार्फत गरेको छ ।
वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूला नाम हुन् । यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले क्रमश कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन् ।
टि २० क्रिकेटमा वार्नर उनीहरुभन्दा पनि माथिल्लो श्रेणीका खेलाडी मानिन्छन् ।
काठमाडौं गोर्खाजले मंगलबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै वार्नरलाई स्वागत गरेको छ ।
फ्रेन्चाइजले यसअघि वार्नरलाई अनुबन्धित गर्ने थुप्रै संकेत दिए पनि आधिकारिक जानकारी गराएको थिएन ।
आज सार्वजनिक भिडियोमा वार्नर नेपाल आउन उत्साहित रहेको र काठमाडौं गोर्खाजमा अनुबन्धित भएको जनाएका छन् ।
उनले भनेका छन् – “यो समय धेरै मानिसका लागि निकै कठिन रहँदै आएको छ ।
यस्तो अवस्थामा एनपीएलले केही खुसी ल्याउन र मानिसहरूलाई एकजुट भएर साथ दिन एउटा माध्यम बन्न सकोस् भन्ने मेरो आशा छ ।
एनपीएल र यसका समर्थकहरूको जोश र उत्साहबारे मैले धेरै सुनेको छु । अब आफैंले त्यो अनुभव गर्न म निकै उत्साहित छु । तपाईंहरू सबैलाई भेट्न म आतुर छु । तीन सहर । एउटै आत्मा । एउटै टोली । एउटै सपना । आयो गोर्खाली ।”
को हुन् वार्नर ?
वार्नरले विश्वका चर्चित लिगहरु खेलेका छन् । उनी इन्डियन प्रिमियर लिग (आईपीएल)मा सबैभन्दा सफल विदेशी ब्याटरमध्ये एक हुन् ।
उनले आईपीएलमा ६ हजारभन्दा बढी रन बनाएका छन् । एकै सिजनमा सर्वाधिक रन बनाउने ब्याटरलाई दिइने ‘ओरेन्ज क्याप’ उनले तीनपटक जितेका छन् ।
वार्नरलाई सन् २००९ मा दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो । उनी सन् २०१३ सम्म यही टोलीबाट खेले । तर, सन् २०१४ को आईपीएल अक्सनपछि उनी ८ लाख ८० हजार अमेरिकी डलरमा सनराइजर्स हैदराबादमा आबद्ध भए ।
सन् २०१५ मा उनलाई टोलीको कप्तान बनाइयो । उक्त सिजन उनी आईपीएलकै सर्वाधिक रन बनाउने ब्याटर बने ।
सन् २०१६ मा पनि वार्नरले सनराइजर्स हैदराबादको कप्तानी गरे। उनको नेतृत्वमा टोलीले पहिलोपटक आईपीएलको उपाधि जित्यो ।
डेभिड वार्नर अस्ट्रेलियाका सफल क्रिकेटरमध्ये एक हुन् । उनले आफ्नो करिअरमा थुप्रै कीर्तिमान बनाएका छन् । उनी फर्स्ट–क्लास क्रिकेटको अनुभवबिना नै अस्ट्रेलियाको राष्ट्रिय टोलीमा कुनै पनि ढाँचामा छनोट हुने १३२ वर्षपछिका पहिलो अस्ट्रेलियाली क्रिकेटर बनेका थिए ।
वार्नर एकै क्यालेन्डर वर्षमा सात ओडीआई शतक बनाउने पहिलो अस्ट्रेलियाली ब्याटर पनि हुन् ।
वार्नर र शेन वाट्सन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासकै सफल ओपनिङ जोडीमध्ये एक हुन् । उनीहरूले ओपनिङ जोडीका रूपमा १ हजार १०८ रन बनाएका छन्, जुन टी–२० अन्तर्राष्ट्रियमा ओपनिङ जोडीले बनाएको सर्वाधिक रन हो ।
उनीहरूबाहेक कुनै पनि ओपनिङ जोडीले टी–२० अन्तर्राष्ट्रियमा १ हजारभन्दा बढी रन बनाएको छैन ।
वार्नर टी–२० अन्तर्राष्ट्रियमा १ हजार ५०० रन पूरा गर्ने पहिलो अस्ट्रेलियाली तथा समग्रमा छैटौँ क्रिकेटर बनेका थिए। वार्नरले डब्ल्यूएसीए मैदानमा तीन शतक बनाउने पहिलो ब्याटरको कीर्तिमान पनि बनाएका छन् ।
सन् २०१७ को एलन बोर्डर अवार्ड्समा वार्नरले अस्ट्रेलियाको वर्षकै उत्कृष्ट ओडीआई खेलाडीको अवार्डसँगै प्रतिष्ठित एबी मेडल पनि जिते ।
६ सेप्टेम्बर २०१७ मा बंगलादेशविरुद्ध चिटगाउँमा खेल्दा वार्नरले एसियाली भूमिमा लगातार दुई टेस्ट शतक बनाए । उनी यस्तो उपलब्धि हासिल गर्ने छैटौँ अस्ट्रेलियाली खेलाडी बने।
२८ सेप्टेम्बर २०१७ मा भारतविरुद्ध खेल्दै वार्नरले आफ्नो १००औँ ओडीआई खेले । उक्त खेलमै शतक बनाएर उनी १००औँ ओडीआईमा शतक बनाउने पहिलो अस्ट्रेलियाली तथा समग्रमा आठौँ ब्याटर बने ।
२७ अक्टोबर २०१९ मा वार्नरले आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक बनाए । यससँगै उनी टेस्ट, ओडीआई र टी–२० अन्तर्राष्ट्रिय तीनै ढाँचामा शतक बनाउने तेस्रो अस्ट्रेलियाली क्रिकेटर बने ।
३० नोभेम्बर २०१९ मा पाकिस्तानविरुद्ध एडिलेड ओभलमा वार्नरले अविजित ३३५ रन बनाए । उनी एडिलेड ओभलमा टेस्टमा त्रिशतक बनाउने पहिलो ब्याटर बने ।
उनी टेस्ट क्रिकेटमा त्रिशतक बनाउने सातौँ अस्ट्रेलियाली ब्याटर तथा अस्ट्रेलियाली मैदानमा यस्तो उपलब्धि हासिल गर्ने चौथो अस्ट्रेलियाली बने ।
३३५ रनको उक्त इनिङ्ससँगै वार्नरले डन ब्राडम्यानको ३३४ रन र मार्क टेलरको अविजित ३३४ रनलाई पछि पारे । ६ जुन २०२४ मा ओमानविरुद्ध २०२४ टी–२० विश्वकपको अस्ट्रेलियाको पहिलो खेलमा वार्नरले अर्को ठूलो उपलब्धि हासिल गरे ।
उनले आरोन फिन्चलाई पछि पार्दै टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमान आफ्नो नाममा बनाए ।
वार्नरको क्रिकेट करिअरलाई हेर्दा उनले ११२ टेस्ट खेलमा २०५ इनिङ्समा ८ हजार ७८६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर ३३५ नटआउट रहेको छ ।
यस्तै, उनले १६१ एकदिवसीय खेलमा ६ हजार ९३२ रन बनाएका छन् । उनको उच्च स्कोर १७९ रहेको छ । टी २० अन्तर्राष्ट्रियमा वार्नरले ११० खेलमा ३२२७ रन बनाएका छन् । उनले उच्च स्कोर १०० नटआउट रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




