एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री बालेनको घोषणा
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गर्दै प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित रंगशाला निर्माण गर्न लागिएको बताएका हुन् ।
उनका अनुसार रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ । सुदूरपश्चिमको फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि अगाडि बढाइने उनले बताएका छन् ।
घोषणाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदानका रूपमा विकास गरिनेछ ।
त्यस्तै, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आठवटै क्लबका लागि छुट्टाछुट्टै घरेलु मैदान निर्माण गर्ने यो घोषणाले कार्यान्वयनको चरणमा प्रवेश गरे नेपाली क्रिकेटको पूर्वाधार र प्रतियोगिताको सञ्चालन ढाँचामा परिवर्तन ल्याउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




