एनपीएल एलिमिनेटर : मिशाराको कीर्तिमानी शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर अन्तरगत चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले काठमान्डुलाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन जोड्यो । चितवनले तेस्रो ओभरमा पहिलो विकेट गुमायो । देव खनाल १५ बलमा १७ रन जोडेर आउट भए ।
तेस्रो ओभरमा बलिङमा आएका काठमान्डुका कप्तान करण केसीले पहिलो बलमै सफलता हात पार्दै खनाललाई पभेलियन पठाए । चितवनले लगत्तै अर्को विकेट पनि गुमायो ।
दोस्रो बलमा पनि करणले विकेट लिँदै डेविड मलानलाई आउट पारे । मलान खाता खोल्न नसकी आउट भए । चितवनले पावरप्लेमा २ विकेट गुमाएर ३४ रन जोड्यो । आठौं ओभरमा कामिल मिशाराले जीवनदान पाए । काठमान्डुका विलियम बोसिस्टोले उनको क्याछ छुटाए ।
चौथो नम्बरमा ब्याटिङमा आएका रवि बोपाराले मिशारालाई साथ दिँदै दुई ब्याट्सम्यानले चितवनको इनिङ्स सम्हाले ।
मिशाराले संयमित ब्याटिङ गर्दै ३३ बलमा अर्धशतक बनाए । त्यसपछि हात खोल्दै उनले आक्रामक ब्याटिङ गरे । १४ औं ओभरमा सोनु देवकोटालाई लगातार तीन बलमा तीन छक्का प्रहार गर्दै दबाबमा पारे ।
मिशाराले ५३ बलमा शतक बनाए । एनपीएलमा शतक बनाउने उनी पाँचौ खेलाडी बने । यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका छन् । शतक बनाउने सबै विदेशी खेलाडी हुन् ।
मिशाराले एनपीएल इतिहासकै उच्च स्कोर बनाए । उनी १२० रनमा नटआउट रहे । उनले कर्णाली याक्सका मार्क वाटको उच्च स्कोरको कीर्तिमान तोडेका हुन् । वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध ११४ नटआउट रन बनाएका थिए ।
यस्तै कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेल्दै ४२ बलमा ५३ रनको योगदान दिए । बलिङतर्फ काठमान्डुका करण केसी र राशिद खानले दुई दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




