एमालेमा अनिर्णय : ओलीले तीन नेतालाई घरमा बोलाए
पुनर्गठन कार्यदलमा कुरा नमिल्दा सचिवालयदेखि केन्द्रीय कमिटी वैठकसम्म अनिश्चित

काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमा सर्वसम्मत नहुँदा एमालेको केन्द्रीय कमिटी बैठकदेखि सचिवालयसम्म अनिश्चयमा परेको छ ।
अहिले बस्नुपर्ने कार्यदलको बैठक स्थगित गर्न लगाएर अध्यक्ष केपी शर्मा ओलीले कार्यदलका मुख्य तीन नेतालाई भक्तपुर, गुण्डुस्थित आफ्नो घरमा बोलाएका छन् ।
ओलीले कार्यदल संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल), विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललाई बोलाएका हुन् । उनीहरू गुण्डु जाँदैछन् ।
बादलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनका आधारमा छलफल गर्न भदौमा ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाइएको छ । आज भदौ १ गतेभित्र उक्त प्रतिवेदनलाई अन्तिम रूप दिने म्याण्डेड थियो । शनिबार र आइतबार काभ्रेको बल्थलीमा सम्पन्न कार्यदलको आवासीय बैठकले त्यस्तो म्याण्डेड दिएको थियोे ।
कार्यदलको असार २५ मा सम्पन्न बैठकले संयोजक बादल र महासचिव एवं कार्यदलका सदस्य सचिव पोखरेललाई प्रतिवेदन लेख्न जिम्मा दिएको थियोे । तयार भएको प्रतिवेदन अध्यक्ष ओलीलाई अध्ययनका लागि दिइयो । तर, ओलीकै वहिर्गमनसहितका सिफारिस उल्लेख भएका कारण उनले पोखरेलको प्रतिवेदनमा चित्त बुझाएनन् ।
त्यसपछि आफू निकट नेतालाई आफ्नो अनुकूलमा अर्को प्रतिवेदन तयार पार्न लगाए । उक्त प्रतिवेदन भदौ २७ को कार्यदल बैठकमा पेश भयो । त्यसपछि उत्पन्न जटिलता हल गर्न भोलिपल्टदेखि काभ्रेको बल्थलीमा आवासीय बैठकको आयोजना गरियो । सो बैठकले संयोजक बादल, कार्यदल सदस्य तथा पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेललाई दुबै प्रतिवेदन मिलाएर एउटै बनाउने जिम्मा दियो ।
हिजो बुधबार दुई प्रतिवेदनलाई एउटै बनाउने विषयमा पार्टी कार्यालय च्यासलमा तीन नेताबीच छलफल भयो । पौडेल र पोखरेलले आधिकारिक प्रतिवेदनको हैसियतलाई तेजोबध गर्दै वैकल्पिक प्रतिवेदनलाई मूल प्रतिवेदन स्वीकार गर्न नसकिने बताए । यसरी कुरा नमिल्दा दुई घण्टाको छलफल छोडेर बादल बुधबार अध्यक्ष ओलीको भक्तपुर, गुण्डुस्थित घरमा पुगेका थिए ।
गुण्डुस्रोतका अनुसार ओलीले बादललाई कार्यदलको बैठक नबोलाउन भनेका छन् । त्यसैले आज बस्नुपर्ने बैठक अहिलेसम्म निश्चित भएको छैन । कार्यदलको बैठक बसेर प्रतिवेदन पारित नभएसम्म उक्त प्रतिवेदनमाथि पार्टीका अन्य बैठकमा छलफल हुन सक्दैन । जबकि केन्द्रीय कमिटी बैठकको मूल एजेण्डा नै कार्यदलको प्रतिवेदन हो । उक्त एजेण्डालाई सचिवालय बैठकले पारित गर्नुपर्छ । कार्यदलले अहिलेसम्म प्रतिवेदन नै पारित नगरेपछि सचिवालय र केन्द्रीय कमिटीका बैठक पनि अनिर्णयको शिकार बनेका छन् ।
कार्यदल सदस्य तथा पार्टी केन्द्रीय सचिव डा. राजन भट्टराईले अहिले गुण्डुमा हुने छलफलपछि केही निकास निस्किने विश्वास रहेको बताए । उनी पुनर्गठन पक्षधर हुन् ।
ओली पक्षका नेताहरूले पार्टी अध्यक्षलाई हटाउने जस्ता विषय राखेसम्म प्रतिवेदनबारे कुनै छलफल नहुने बताएका छन् । १६ सदस्यीय कार्यदलमा ओलीका पक्षमा ५ जना खुलेका छन् ।
प्रतिवेदनमाथि नै छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएका कारण प्रतिवेदनलाई अब पनि अनिर्णयमा राख्न नसकिने पुनर्गठन पक्षधर नेताहरूले बताएका छन् । गुण्डु छलफलपछि पनि कुनै निकास नआए प्रतिवेदनलाई कार्यदलको बहुमतले पारित गरेर अगाडि जानुपर्ने उक्त पक्षको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




