एमालेले नीति, विचार, कार्यशैली र संगठन पुनर्गठन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनको पुनर्गठन गर्नुपर्ने बताएका छन्।
नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको आइतबार आयोजित १३औँ बैठकलाई सम्बोधन गर्दै गुरुङले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा पुनर्गठन आवश्यक रहेको बताएका हुन्। उनले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई थप सक्रिय र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।
एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताले चाहेअनुसारको पार्टी निर्माण गर्नुपर्ने बताएका छन्। पार्टीभित्र भएका गल्ती–कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उनले बताए। विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउन सबै तहका नेता–कार्यकर्ता जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पनि पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनुपर्नेमा जोड दिए। उनीहरूले पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने बताए।
जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रमबारे जानकारी गराए। उनले पार्टी संगठनको सुदृढीकरण, कार्यकर्ता परिचालन र आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने योजनाबारे बैठकमा जानकारी गराएका थिए।
मदन–आश्रित स्मृति भवनमा आयोजित बैठकमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। बैठकसँगै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




