एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, दुवै प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बिहान ११ बजे च्यासलमा बस्दै छ।
गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले लज्जास्पद पराजय व्यहोरेपछि एमालेले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको थियो।
कार्यदलले देशभरका कार्यकर्ताहरूसँग गरेको छलफलका आधारमा महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले तयार पारेको अलग्गै प्रतिवेदनमाथि बैठकमा छलफल हुने एमालेका एक पदाधिकारीले जानकारी दिएका छन्।
कार्यदलका एक सदस्यका अनुसार महासचिव पोखरेलको प्रतिवेदन नेता तथा कार्यकर्ताहरूको सुझावमा आधारित छ। यता बादलले तयार पारेको प्रतिवेदनलाई केही नेताहरूले खण्डनपत्र वा आरोपपत्रका रूपमा लिएका छन्।
बैठकमा पोखरेलको प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने र बादलको प्रतिवेदनलाई नोट अफ डिसेन्टका रूपमा समावेश गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ।
कार्यदलले प्रतिवेदन टुङ्गो लगाएपछि एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ। सचिवालय बैठकपछि केन्द्रीय कमिटीमा प्रतिवेदनउपर छलफल हुने पार्टीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



