एमाले प्रचार प्रमुख निरज आचार्यको टिप्पणी- महंगीले जनता आहत, सरकार भ्रम फैलाउँदै
उनले भनेका छन्, ‘जनतालाई राहत दिन नसक्ने सरकार आफ्नो अयोग्यता र नालायकी ढाकछोप गर्न विषयान्तरको घृणित खेलमा लागेको छ।

काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले चाडपर्व नजिकिँदै गर्दा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको र सरकारले आफ्नो कमजोरी ढाक्न विषयान्तर गरेर जनतालाई राहत दिन जरुरी नठानेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै दैनिक उपभोग्य वस्तुको आपूर्ति, व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार पूर्णतः असफल भएको आरोप लगाए ।
उनले भनेका छन्, ‘जनतालाई राहत दिन नसक्ने सरकार आफ्नो अयोग्यता र नालायकी ढाकछोप गर्न विषयान्तरको घृणित खेलमा लागेको छ।’
उनले ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नभएको विषयमा केन्द्रित हुँदै भनेका छन्। ‘सरकारले हिजो दिनभरि सामाजिक सञ्जालमा ललितपुरका पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको कृतिम परिचय दिँदै ग्यास लुकाएको आरोप लगाएर नेकपा एमालेलाई बदनाम गर्ने दुष्प्रचार गराएको देखियो ।’
उनले सरकार संरक्षित अमुक राजनीतिक दलका कार्यकर्ताहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने र सामाजिक सद्भाव भड्काउने अराजनीतिक गतिविधि भइरहेको भन्दै यस्तो कार्य निन्दनीय र खेदजनक भएको बताए ।
उनले सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न गरिएका यस्ता कुप्रचारको भर्त्सना गरेका छन् । उनले भनेका छन्, ‘भ्रम, झुट र दुष्प्रचारको राजनीति धेरै दिन चल्ने छैन। हामी डिजिटल निगरानीमा छौँ। सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री, गतिविधि र त्यसमा संलग्नहरूको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जानेछौँ। जनतालाई भ्रमित पार्ने होइन, आफ्ना कमजोरीको जवाफ दिने साहस गर ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




