एमाले केन्द्रीय सदस्यमा पोल्देन छोपाङ गुरुङको शपथ, मनाङको विकासले थप गति लिने अपेक्षा
नेकपा (एमाले) का नेता एवं पूर्व सांसद पोल्देन छोपाङ गुरुङले पार्टीको केन्द्रीय कमिटी सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं पूर्व सांसद पोल्देन छोपाङ गुरुङले पार्टीको केन्द्रीय कमिटी सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मङ्गलवार (मङ्सिर १ गते) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुङसहित नवनियुक्त तीन केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्। यसअघि गत असोजमा बसेको पार्टीको स्थायी कमिटी बैठकले गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।
विसं २०७४ को निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका गुरुङले यसअघि एमाले मनाङ जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक सम्हालिसकेका छन्। भौगोलिक रूपमा विकट हिमाली जिल्ला मनाङको समग्र विकास निर्माण र स्थानीय नागरिकका समस्या समाधानमा उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन्।
सडक सञ्जाल विस्तार, खानेपानी तथा पर्यटन पूर्वाधार विकासमा महत्त्वपूर्ण पहलकदमी लिँदै आएका गुरुङ स्थानीय आवश्यकतालाई नजिकबाट बुझ्ने र समाधानका लागि निर्णायक भूमिका खेल्ने नेताका रूपमा परिचित छन्। गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसँग निरन्तर समन्वय गर्दै जिल्लाको विकासमा जुटिरहेका गुरुङको सक्रियतामा जिल्ला समन्वय समितिमार्फत समेत विभिन्न पूर्वाधार योजनाहरू अघि बढाइएका छन्।
राजनीतिसँगै व्यावसायिक कृषि क्षेत्रमा समेत उत्तिकै सक्रिय गुरुङ देशकै एक नमुना किसानका रूपमा स्थापित छन्। मनाङको भ्राताङमा 'एग्रो मनाङ प्रालि' मार्फत उच्च घनत्वको स्याउ खेती सुरुवात गरेका उनको परिवारले नेपाललाई स्याउमा आत्मनिर्भर बनाउने अभियानमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। मनाङको कृषि सम्भावनालाई उजागर गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र कृषि पर्यटनको विकासमा उनले विशेष चासो दिँदै आएका छन्।
विकट भूगोल र सीमित पूर्वाधारका बिच जिल्लाको विकासदेखि जनगुनासो सम्बोधनसम्म निरन्तर खटिँदै आएका गुरुङ पार्टीको नीति निर्माण तह (केन्द्रीय कमिटी) मा पुगेसँगै मनाङको राजनीतिक वृत्तमा उत्साह देखिएको छ। केन्द्रमा उनको प्रत्यक्ष उपस्थितिले आगामी दिनमा मनाङका विकासका एजेन्डा र स्थानीय मुद्दाले राष्ट्रिय प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




