एमाले बैठकमा अनुपस्थित योगेशको ओलीलाई सुझाव- पार्टी एकतालाई खण्डित गर्ने कुनै निर्णय नहोस्
४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिनुपर्ने र विगतमा छुटेका भूगोल तथा समुदायलाई समेटेर मनोनयन गर्नुपर्ने सुझाव दिए। आफू जरुरी कामका कारण स्थायी कमिटी बैठकमा उपस्थित हुन नसकेको र अनुपस्थितिबारे पहिले नै जानकारी गराएको उल्लेख गरेका छन्।

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने कुनै निर्णय नगर्न सुझाव दिएका छन्।
पार्टीको केन्द्रीय कमिटीमा सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताबीच सन्तुलन मिलाउन आग्रह गरेका छन्।
४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिनुपर्ने र विगतमा छुटेका भूगोल तथा समुदायलाई समेटेर मनोनयन गर्नुपर्ने सुझाव दिए। आफू जरुरी कामका कारण स्थायी कमिटी बैठकमा उपस्थित हुन नसकेको र अनुपस्थितिबारे पहिले नै जानकारी गराएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गइरहेको छ। लोकतन्त्र र संविधानको रक्षा राष्ट्रिय प्रश्न बनिरहेको छ। यस्तो बेलामा प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण सहित बलियो एकता निर्माण गरी उपरोक्त कार्यभार पुरा गर्न अग्रसरता लिनु पर्दछ।’
एमाले केन्द्रीय कमिटीको असोजको पहिलो साता सम्पन्न बैठकमा पनि आफूहरूले पार्टी रूपान्तरण, युवा सहभागिता तथा सङ्गठनात्मक सन्तुलनका विषयमा पर्याप्त छलफल उठाएको भट्टराईले स्मरण गराएका छन्।
पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने तथा वडा र पालिका तहका अधिवेशन आयोजना गर्ने निर्णय गरेको बताएका छन्। उनले सङ्गठनात्मक प्रक्रियामार्फत पार्टीलाई गतिशील बनाउने र आन्तरिक तथा राष्ट्रिय महत्त्वका विषयमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
तर, केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्दा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुराना नेताको मिश्रणसहित स्पष्ट मापदण्ड बनाउने विषयमा उठाइएको सुझावअनुसार निर्णय हुन नसकेको उनको भनाइ छ। त्यसले पार्टीभित्र सकारात्मक ऊर्जा सिर्जना गर्न नसकेको उनले उल्लेख गरेका छन्।
स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिएका छन्। आसन्न निर्वाचनलगायत चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त हुने उनको भनाइ छ। उनले थपेका छन्, ‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र फुर्सदमा पछुताउनु सरह हुनेछ।’
केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा पार्टीभित्र सहमति र सन्तुलन कायम हुन नसक्ने अवस्था आएमा ती एजेन्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट निर्णय गर्नु उपयुक्त बताएका छन्।
केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिटब्युरो, ज्येष्ठ कम्युनिस्ट मञ्च र विभागका जिम्मेवारीका निम्ति ओली एक्लैले तयार पारेको सूची बैठकमा पेस गरेपछि एमालेमा चर्को असन्तुष्टि छ। त्यसबारेमा निर्णय लिन आज पनि स्थायी कमिटी बैठक बस्दै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




