Logo
Logo
समाचार

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २४ गते १८:३९
४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ ।

ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन् भने उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका पाइएको छ ।

नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ । असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन् ।

ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार पहिलो सिकार याममा हालसम्म १० नाउर र सात झारलको सिकार चलिरहेको छ । यस याममा ११ जना विदेशी सिकारी ढोरपाटन आइसकेका छन् भने थप छ जना आउने तयारीमा छन् ।

विश्वका धनाढ्य सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । रसिया, अमेरिका, स्पेन, डेनमार्क, अफ्रिकी मुलुक र फ्रान्सलगायत देशबाट सिकारी आउने गरेको सुवेदीले बताए।

विदेशी सिकारीको चहलपहल उच्च पहाडी सिकार क्षेत्रमा केन्द्रित रहँदा ढोरपाटन उपत्यका, निसेलढोर, बुकीपाटन र जलजलामा भने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । विशेषगरी चाडपर्वको समय र अनुकूल मौसममा प्रकृतिसँग रमाउन तथा पदयात्रा गर्न पर्यटक ढोरपाटन पुग्ने गरेका छन् ।

कुनै समय विदेशी पर्यटक र सिकारीमाझ मात्रै परिचित ढोरपाटन पछिल्लो समय पदयात्राका लागि नेपाली पर्यटकको रोजाइमा पनि पर्न थालेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।

स्थानीय पाखाथर सामुदायिक घरबासका सञ्चालक पुनम बुढामगरका अनुसार विदेशी सिकारी हेलिकप्टरमार्फत सिधै सिकार ब्लकमा पुग्ने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्ग हुँदै ढोरपाटन आउने र त्यहाँबाट पदयात्रा गरी बुकीपाटनसम्म पुग्ने गरेका छन् । विदेशी सिकारी सिकारमा रमाउने र स्वदेशी पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा आकर्षित हुने गरेको उनले बताए ।

ढोरपाटन सिकार आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सातवटा सिकार ब्लक छन् । सिकारका क्रममा विदेशी सिकारीसँग नेपाली सहयोगी र आरक्षका कर्मचारी पनि खटाइने गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ ।

ढोरपाटन क्षेत्रमा प्रत्येक वर्ष दुई ‘सिजन’मा सिकार खेलाउने गरिएको छ । पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म र दोस्रो याम फागुनदेखि वैशाखसम्म सञ्चालन हुन्छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको सिकार ब्लकमा सिकार सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

गत आर्थिक वर्षको दुई सिकार याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । त्यसबाट रु चार करोड १७ लाख राजस्व संकलन भयो । सोही अवधिमा ३७ हजार आन्तरिक तथा बाह्य पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए । चालु आर्थिक वर्षमा पनि गत वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको छ । 

पछिल्लो समय पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा होटल तथा घरबास सञ्चालन पनि विस्तार हुँदै गएको छ । सिकार पर्यटनसँगै पदयात्रा, प्राकृतिक दृश्यावलोकन र स्थानीय संस्कृति ढोरपाटनको पर्यटनका थप आकर्षण हुन् । विसं २०४४ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित