Logo
Logo
समाचार

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १ गते १८:४४
४३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

लमजुङ। हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।

विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थेपरम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ लगाइएका घर बढेसँगै दसैँको आगमनसँग जोडिएको गाउँको त्यो पुरानो रौनक पनि हराउँदै गएको छ।

विगतमा दसैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्यालमा रँगाउने र बाटाघाटा सफा गर्ने चटारो हुन्थ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने चलन दसैँको तयारीसँगै जोडिएको थियो । केही वर्षदेखि लमजुङका गाउँबस्तीमा यो परम्परा क्रमशः हराउँदै गएको छ ।

आधुनिक घर निर्माण, सिमेन्टको प्रयोग, बजारमा पाइने रङको बढ्दो चलन र बसाइँसराइका कारण रातो माटो र कमेरोले घर पोत्ने परम्परा कमजोर बन्दै गएको स्थानीय बताउँछन्। कुनै समय गाउँका घरलाई दसैँका लागि नयाँ रूप दिने र छरछिमेकबीच सहकार्य बढाउने यो चलन अहिले विरलै देखिन थालेको छ ।

बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीलाई दसैँअघि गाउँमा हुने पुरानो चहलपहल अझै सम्झना छ। उनका अनुसार पहिले गाउँलेहरू आधा घण्टादेखि एक घण्टासम्म पैदल हिँडेर जङ्गलनजिकका ठाउँमा पुग्थे र घर पोत्न रातो माटो खनेर ल्याउँथे। त्यसपछि घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, ढोका–झ्यालमा कालो रङ लगाउने तथा बाटोघाटो सफा गर्ने गरिन्थ्यो।

घर पोत्ने काम घरधनीको मात्र जिम्मेवारी हुँदैनथ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउँथे । घरमा वृद्धवृद्धा मात्रै रहेका वा आफैँले घर पोत्न नसक्ने परिवारलाई छिमेकीले माटो ल्याइदिने र आवश्यक सामग्री जुटाउन सहयोग गर्ने चलन थियो । पहिलेको जस्तो आपसी सहयोग र सहकार्य कमजोर हुँदै गएको तिवारीको अनुभव छ ।

रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारका सदस्य गाउँबाहिर जाने क्रम बढेको, कतिपय घर खाली रहेको र कतिपयमा वृद्धवृद्धा मात्रै बस्ने गरेकाले गाउँको पुरानो चहलपहल घटेको उनले बताए।

तिवारीको आफ्नै घरमा पनि यो परिवर्तन देखिएको छ। उनका अनुसार २०७२ सालको भूकम्पअघि उहाँको घर परम्परागत शैलीको थियो र त्यसमा रातो माटो तथा कमेरो पोत्ने गरिन्थ्यो । भूकम्पपछि नयाँ घर निर्माण गर्दा पुरानो बनावट कायम नरहेकाले अहिले पहिलेझैँ घर पोत्ने अवस्था नरहेको उनले बताए।

दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङका अनुसार पुराना घरको सङ्ख्या घट्दै जानु र नयाँ घरमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्नुले यो परम्परा हराउँदै गएको हो। पहिले गाउँका धेरैजसो घरमा रातो माटो र कमेरो पोतिने गरे पनि अहिले पुराना घरमा समेत सिमेन्टको प्लास्टर गर्ने चलन बढेको उनले बताए।

बेँसीसहर नगरपालिका–३, गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने परम्परा कायम छ। लमजुङ दरबारनजिकै रहेको गाउँसहरका केही स्थानीयले परम्परागत शैलीमा घर पोतेर गाउँबस्ती सफा र आकर्षक राख्ने अभ्यासलाई निरन्तरता दिँदै आएका छन्।

स्थानीय सुरेश श्रेष्ठका अनुसार गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने गरिन्छ । आधुनिक घर निर्माण बढ्दै जानु र पुराना घर भत्काएर नयाँ संरचना बनाउने क्रमले यो परम्परा पनि क्रमशः हराउने जोखिम बढेको उनले बताए।

रातो माटो र कमेरोले घर पोत्ने चलन घर सजाउने तरिका मात्रै थिएन। यसमा स्थानीय स्रोतसाधनको प्रयोग, परम्परागत सीप र छरछिमेकबीचको सहकार्य जोडिएको थियो । दसैँअघि गाउँलेहरू मिलेर गर्ने कामले सामूहिकता र आपसी सहयोगलाई पनि बलियो बनाउँथ्यो। बदलिँदो ग्रामीण जीवनशैलीसँगै यो अभ्यास कमजोर हुँदा गाउँका भित्ताबाट रातो माटो र कमेरोको रङसँगै चाडपर्वमा मिलेर काम गर्ने पुरानो परम्परा पनि लोप भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित