दलको बैठकमा ओलीले भने- लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्नू
संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा-‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा-‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिए ।
संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भए पनि लोकतन्त्र र संविधान निर्माणमा खेलेको ऐतिहासिक भूमिकाका कारण यसको रक्षा गर्ने मुख्य दायित्व एमालेकै काँधमा रहेको ओलीको भनाइ थियो ।
साथै आगामी दिनमा हरेक सांसदले विषयवस्तुको गहन तयारी, विज्ञहरूसँग छलफल र जनताका मुद्दाहरू सशक्त रूपमा उठाएर संसदमा गुणात्मक र प्रभावकारी उपस्थिति जनाउन समेत निर्देशन दिएको प्रमुख सचेतक ऐन महरले बताए ।
बैठकले वर्तमान सरकार लोकतन्त्र, संविधानको रक्षा र जनजीविकाका सवालहरूलाई सुदृढ गर्न पूर्ण रूपमा चुकेको र निरन्तर फासीवादी, स्वेच्छाचारी एवं तानाशाही बाटोमा उद्धत रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक महरको भनाइ छ ।
सरकारले संसदलाई उत्तरदायी बनाउन नसकेको, सत्ताको छायाँमा संसदलाई पारेको र जनमतको उपेक्षा गर्दै संसदलाई एक प्रकारको कठपुतली बनाउन खोजेको उनले आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




