दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
अपिहिमाल, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा जोखिम हुन सक्ने

बाजुरा । दार्चुलाको अपिहिमाल गाउँपालिका-२ स्थित भट्टार क्षेत्रमा पहिरो गएको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए।
नदीको बहाव प्रभावित भएकाले नदी किनारका बस्तीका नागरिकलाई सतर्क गराउन लागिएको उनले बताए।
‘पहिरोले चौलानी नदी थुनिएको हामीले जानकारी पाएका छौँ । अहिले पानी पास भइरहेको छ । फेरि पहिरो जान सक्ने सम्भावना रहेकाले सबैलाई सचेत गराइसकेका छौँ,’ प्रजिअ पौडेलले भने।
अपिहिमाल, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित प्रहरी निकायलाई जानकारी गराइएको उनले बताए। डडेलधुरा र बैतडीका तटीय क्षेत्रका बासिन्दालाई समेत खबर गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ।
नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




