Logo
Logo
समाचार

च्याउ खेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

डडेल्धुराका एक किसानले भने विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउ खेतीबाट आम्दानी गर्न सफल भएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १५:०५
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

डडेल्धुरा । वैदेशिक रोजगारीका लागि विदेश पुगेका धेरै युवा स्वदेश फर्किएपछि फेरि रोजगारीको खोजीमा भौँतारिने गरेका छन् । तर डडेल्धुराका एक किसानले भने विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउ खेतीबाट आम्दानी गर्न सफल भएका छन् ।

गन्यापधुरा गाउँपालिका-१ रुवाखोला (असिग्राम)का अन्तराम जोशी अहिले आफ्नै गाउँमा सिताके र कन्या च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन् । उनले विसं २०७७ देखि परालमा कन्या च्याउ उत्पादन सुरु गरेका थिए । त्यसपछि काठका मुडामा सिताके च्याउ खेती विस्तार गर्दै आएका छन् ।

जोशीको फार्ममा उत्पादित सिताके च्याउ प्रतिकिलो रु ८०० मा बिक्री भइरहेको छ । कन्या च्याउको मूल्य भने बजारमा हुने उत्पादन र मागअनुसार फरक पर्ने गरेको उनले बताए। तराईका जिल्लामा च्याउको उत्पादन कम हुँदा प्रतिकिलो रु २०० भन्दा बढी मूल्य पाउने गरेको र उत्पादन बढ्दा रु १५० सम्ममा बिक्री गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

परिवारको जीविकोपार्जनका लागि जोशी २०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । त्यहाँ तीन वर्ष काम गरेर स्वदेश फर्किएका उनले थप आम्दानीको खोजीमा युरोप जाने प्रयास गरे । यसक्रममा काठमाडौँका विभिन्न म्यानपावर कम्पनी धाउने क्रममा उनले च्याउ खेती गर्ने फार्ममा काम गर्ने अवसर पाए ।

काठमाडौँका च्याउ फार्ममा करिब पाँच वर्ष काम गर्दा जोशीले च्याउ उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गरे । युरोप जाने प्रयास सफल नभएपछि सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्ने सोच बनाएर उनी डडेल्धुरा फर्किए र च्याउ खेती सुरु गरे ।

काठमाडौँमा प्रतिकिलो रु एक हजार ५०० सम्म बिक्री हुने सिताके च्याउ गाउँमै उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने उनलाई सुरुमा शंका थियो । स्थानीय बजारमा यसको माग र स्वादप्रति उपभोक्ताको रुचि कस्तो रहला भन्ने चिन्ता पनि थियो । त्यसैले उनले परीक्षणका रूपमा ५० वटा काठका मुडामा सिताके च्याउको बीउ राखेर खेती सुरु गरे । त्यससँगै कन्या च्याउ उत्पादनलाई पनि निरन्तरता दिए ।

करिब नौ महिनापछि काठका मुडामा सिताके च्याउ फल्न थालेपछि जोशीले डडेल्धुरा बजारमा बिक्री गर्न थालेको अनुभव सुनाए। “स्थानीय उपभोक्ताले च्याउ मन पराउन थालेपछि मागसमेत बढ्दै गयो । त्यसपछि दोस्रो वर्षदेखि खेती विस्तार गरी करिब ६०० वटा काठका मुडामा सिताके च्याउ उत्पादन गर्न थालेको हुँ”, उनले भने ।

अहिले जोशीको फार्ममा उत्पादन सीमित भए पनि बजारमा सिताके च्याउको माग बढिरहेको छ । सातामा आठदेखि १० किलोसम्म सिताके च्याउ डडेल्धुरा बजार पठाउने गरेको उनले जानकारी दिए। च्याउ बिक्रीको प्रशस्त सम्भावना भए पनि मागअनुसार उत्पादन गर्न नसकिएको उनको भनाइ छ । तराईका जिल्लामा समेत सिताके च्याउको माग राम्रो रहेकाले उत्पादन बढाउन सके बजारको समस्या नहुने उनले बताए।

च्याउ खेतीले आफूलाई गाउँमै स्वरोजगार बनाउनुका साथै अरूलाई पनि यसतर्फ आकर्षित गर्ने अवसर दिएको जोशीको अनुभव छ । पछिल्ला केही वर्षयता उनले सरकारी कार्यालयमार्फत सुदूरपश्चिमका तराईका जिल्लामा सञ्चालन हुने सिताके च्याउ खेतीसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा समेत काम गर्दै आएका छन् ।

स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन, प्राविधिक सीप र बजारको मागलाई जोड्न सके च्याउ खेती ग्रामीण क्षेत्रका किसानका लागि स्वरोजगार र आम्दानीको राम्रो माध्यम बन्न सक्ने उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित