चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गंगाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो

बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गंगाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् । चितुवा र दुम्सीको आतंकले हैरान बनाएको छ ।
चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परियारको तीन बोका/बाख्रा, नारायण सापकोटाको दुई, मेहन्द्र हमालको दुई र गङ्गाबहादुर ठकुरीको दुई बाख्रा/पाठामा क्षति पुर्याएको छ ।
जैमिनीको ग्रामीण क्षेत्रमा चितुवा र दुम्सीको बढ्दो आतंकका कारण पशुपालन र अन्न बाली संकटमा पर्न थालेको छ । चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानले खर्कमा पशु चराउन छाड्नुपर्ने बाध्यता रहेको सापकोटा बताउछन्।
“अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतंक बढ्न थालेको हो,” सापकोटाले भने, “हाम्रो गाउँमा बसाइँसराइ छैन छिमेकी गाउँ रित्तिँदा खेतबारी झाँडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाल्यो ।” किसानले बारीमा पुगेर बाँदरलाई धपाउन सक्ने भए पनि चितुवा र दुम्सीसँग केही नलागेको उनको भनाइ छ ।
चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले गुनासो गरे। उनले चितुवा लखेट्ने कुकुर जैमिनी नगरपालिकासँग माग गरेको बताए।
आठ वर्षदेखि पशुपालन व्यवसायमा संलग्न गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाल्दै आए पनि अहिले बाख्राको सङ्ख्या घटाउँदै आएको बताए । जैमिनी नगरपालिकामा बसाइँसराइ उच्च रहेपछि बाँझो जग्गा बढ्दा बाँदर, चितुवा र दुम्सीले बाँकी रहेका स्थानीयलाई समस्यामा पारेको छ ।
जैमिनी नगरपालिकामा बसाइँसराइ बढ्पछि झाडी विस्तार भएको छ । त्यसले किसानलाई समस्या पारेको छ । जैमिनी नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




