चीनमा गुञ्जियो नेपाली मौलिक संस्कृति

लमजुङ । चीनको फुगोंगमा एक साँझ नेपाली मौलिक पोसाकमा सजिएका कलाकार कौरा नृत्यको ताल सुरु गर्दै थिए । उनीहरुले देउसी र भैलोको भाका सुरु गरेपछि दर्शकहरु बढ्दै गए । यो दृश्य नसकुञ्जेल दर्शकले आँखा मञ्चमै अडाए ।
चीनको युनान प्रान्तस्थित फुगोंग काउन्टीमा लमजुङ दोर्दी गाउँपालिकाका कलाकार ‘लेट द वर्ल्ड हियर नुजियाङ’ सांस्कृतिक आदानप्रदान कार्यक्रममा लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीसहित नेपाली कलाकारले उक्त नेपाली संस्कृति प्रस्तुत गरेको थियो ।
कार्यक्रम नेपाली कला र संस्कृति अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसरसँगै फुगोंग काउन्टी र दोर्दी गाउँपालिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउने माध्यमसमेत बनेको थियो।
फुगोंग काउन्टी र दोर्दी गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएपछि पर्यटन, संस्कृति, कृषि, शिक्षा तथा युवा आदानप्रदानलगायत क्षेत्रमा सहकार्यका गतिविधि अघि बढ्दै आएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकाको तर्फबाट शुभकामना सन्देश प्रस्तुत गरेका थिए । उनले दुई क्षेत्रबीच स्थापित सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्दै पारस्परिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
पर्यटन, संस्कृति, कृषि, शिक्षा तथा युवा आदानप्रदानका क्षेत्रमा दुवै पक्षले आपसी अनुभव र अवसर साझा गर्न सक्ने उल्लेख गर्दै उनले भगिनी सम्बन्धलाई व्यावहारिक सहकार्यसँग जोड्नुपर्नेमा जोड दिए ।
फुगोंगको शियुएलियाङ स्क्वायरमा आयोजित कार्यक्रममा नेपाली टोलीसँगै चीनका विभिन्न सांगीतिक समूह तथा कलाकारले पनि आ-आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए।
नेपाली टोलीमा दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, वडा नं. ९ का अध्यक्ष आशिष तामाङ, फलेनी माध्यमिक विद्यालय हिलेबजारका प्रधानाध्यापक केदार बोहरा र अमरज्योति माध्यमिक विद्यालयकी शिक्षक जोगमाया गुरुङलगायत सहभागी थिए ।
भगिनी सम्बन्ध स्थापना भएपछि फुगोंग र दोर्दीबीच सांस्कृतिक तथा मैत्रीपूर्ण आदानप्रदानका कार्यक्रमले निरन्तरता पाउँदै आएका छन् । पर्यटन, कृषि, शिक्षा, संस्कृति र युवाका क्षेत्रमा सहकार्यका थप सम्भावना खोज्ने प्रयाससमेत भइरहेको छ।
चीनको फुगोंगमा गुञ्जिएको देउसी र भैलो र प्रस्तुत गरिएको कौरा नृत्य यही सहकार्यको सांस्कृतिक झलक बनेको छ। यससँगै लमजुङको मौलिक कला, संस्कृति र पहिचानले चिनियाँ दर्शकमाझ नयाँ परिचय पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




