चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
बडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८३’ लागू गरेको छ ।

काठमाडौँ । बडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८३’ लागू गरेको छ ।
पर्वको समयमा आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यमा जाने यात्रीसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
“चाडपर्वको मौका छोपी चोरी डकैती, जुवातास एवं सट्टेबाजी, अन्तरराष्ट्रिय सिमानाकामा तस्करी र सीमा अपराध हुन सक्छन्”, उनले भने, “यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न व्यापक प्रहरी परिचालन गरिएको छ ।”
विस्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुन्डी र नक्कली नोट कारोबारलगायतलाई प्रहरीले सुरक्षा चुनौती औँल्याएको छ ।
चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब ५० हजार बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताए । चार सय आठ स्थानमा यात्रु सहायता र अन्तरराष्ट्रिय सीमा–नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनमा यात्रुलाई दुःख दिने, हैरानी दिने, टिकट महँगोमा बिक्री गर्ने, कालोबजारी गर्ने, सिट नभएको टिकट जारी गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रहरीले लक्ष्य लिएको छ । चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन, दुर्घटना न्यूनीकरण गर्नेमा प्रहरीको ध्यान केन्द्रित भएको प्रवक्ता काफ्लेले बताए ।
“चाडपर्वको बेलामा बढ्न सक्ने दुर्घटना कमी ल्याउन मातहतको निकायलाई निर्देशन भइसकेको छ”, उनले भने, “यो चाडपर्वमा विगतको भन्दा अझ शान्त, सुरक्षित, मर्यादित, व्यवस्थित र भरपर्दो सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ ।”
प्रहरीले सुरक्षा व्यवस्थालाई कार्यसम्पादनसँग जोडेर हेरेको छ । “जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी कार्यालयको प्रमुखको कार्यसम्पादन सुरक्षा व्यवस्थासँग जोडेर हेरिएको छ”, उनले भने ।
सम्भावित विपद्सँग जुध्न विशेष टोली तैनाथ
चाडपर्वको समयमा आउन सक्ने विपद्का विभिन्न घटनासँग जुध्न प्रहरीले विशेष टोली तैनाथ गरेको छ । विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ सै घण्टा उद्धार, खोज, राहत तथा सुरक्षा व्यवस्थाका लागि तैनाथी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




