Logo
Logo
समाज

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, १ हजार ९७६ जनाको उद्धार

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १२ गते १४:०७
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार तथा राहत कार्यमा १५ हेलिकप्टरसमेत परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले जनाएको छ।

प्राधिकरणले भदौ ११ गते राति १० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता र सूचना व्यवस्थापनका लागि १२ विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको जनाएको हो।

प्राधिकरणका अनुसार उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ हेलिकप्टर परिचालन गरिएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले स्थलगत तथा हवाई उद्धारलाई निरन्तरता दिइरहेका छन्। हालसम्म १ हजार ९७६ जनाको उद्धार गरिएको छ।

खोज तथा उद्धारमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

हिम–चट्टान खस्दा आएको बाढी

प्राधिकरणका अनुसार २०८३ भदौ १० गते नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करिब एक वर्ग किलोमिटर क्षेत्रफलको हिम–चट्टान खसेपछि ठूलो भू–चाल उत्पन्न भएको थियो। उक्त घटनाबाट म्याग्निच्युड ५.२ बराबरको भूकम्पीय सङ्केतसमेत देखिएको जनाइएको छ।

हिम–चट्टान खसेपछि भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा भीषण बाढी आएको र त्यसबाट ठूलो जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ।

१३० जना घाइते

बाढीबाट हालसम्म १३० जना घाइते भएका छन्। तीमध्ये ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। थप उपचार आवश्यक परेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ।

९७७ जना अझै सम्पर्कविहीन

बाढीपछि हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बिहीबार राति १० बजेसम्म विभिन्न जिल्लामा ३८९ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये चितवनमा १३७, नवलपरासी पूर्वमा ८७, नुवाकोटमा २८, धादिङमा ३३, रसुवामा १७, गोरखामा ३२, नवलपरासी पश्चिममा २७ र तनहुँमा २८ जना रहेका छन्।

सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ र रसुवाका १६१ जना रहेका छन्। त्यस्तै ५१७ जना विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका र विदेशमा बस्ने १२७ जना नेपाली नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

सडक सञ्चालनका लागि उपकरण परिचालन

बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा भारी उपकरण परिचालन गरिएको छ। देवीघाटको सडक अवरोध हटाइसकिएको छ भने गल्छी–विदुर–त्रिशूली तथा बैरेनी–मुग्लिन सडकखण्डमा अवरोध हटाउने काम भइरहेको छ।

धुञ्चे–ग्राङ सडकखण्डमा एक हिल एक्साभेटर, एक लोडर र एक टिपर परिचालन गरिएको छ। विदुर–त्रिशूली–ढुङ्गे खण्डमा तीन भारी उपकरण परिचालन गरिएको छ। बैरेनी–मुग्लिन खण्डमा एक ब्याकहो परिचालन गरिएको छ भने थप एक ह्विल लोडर नुवाकोट सडक डिभिजनबाट पठाउने तयारी गरिएको छ।

सडक विभागअन्तर्गत काठमाडौँमा दुई भारी उपकरण तयारी अवस्थामा राखिएका छन्। सडक डिभिजन मुलकोट र डुम्रे (खैरेनी) मा पनि एक–एक उपकरण तयारी अवस्थामा राखिएको छ। जनकपुरमा नौ भारी उपकरण र चार टिपर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

रसुवा, नुवाकोट र धादिङमा २ करोड ५० लाख राहत

सरकारले तत्काल राहत वितरणका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख गरी कुल २ करोड ५० लाख रुपैयाँ पठाएको छ।

प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, त्रिपाल, कम्बल, सुत्ने सामग्री, सोलार बत्ती, जेनेरेटर, पावर बैंक, सरसफाइ तथा स्वास्थ्य सामग्रीलगायत राहत सामग्री वितरण भइरहेको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ५०० झुल, ४ हजार २०० बाल्टिन, १ हजार बालबालिकाका डिग्निटी किट, १०० सेतो टार्पोलिन, १५० स्लीपिङ ब्याग, १०० म्याट्रेस, ७०० कम्बल, ५०० प्लास्टिक सिट, १०० रोल डोरी, १ हजार सोलार ल्याम्प, ५०० सोलार ल्याम्प प्लेट, एक ३० केभिए क्षमताको जेनेरेटर, करिब २०० टेन्ट, दुई पोर्टेबल जेनेरेटर, २ हजार १२० पिरियड प्यान्टी र ९० शव राख्ने ब्याग पठाइएको छ।

इन्धन आपूर्ति सहज बनाउन तयारी

नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजेल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन बिहीबार थप १८ हजार लिटर डिजेल र १८ हजार लिटर पेट्रोल पठाइएको छ।

१२ विषयगत आपतकालीन समन्वय टोली परिचालन

बाढी प्रतिकार्यलाई प्रभावकारी बनाउन खोज तथा उद्धार, स्वास्थ्य, शव व्यवस्थापन, अन्तर्राष्ट्रिय सहायता, यातायात तथा सडक, क्षति मूल्याङ्कन, बेपत्ता व्यक्ति खोजी, राहत, हवाई सञ्चालन, सञ्चार तथा विद्युत् पुनःस्थापनालगायत १२ विषयगत टोली परिचालन गरिएको छ।

बेपत्ता व्यक्तिको विवरण सङ्कलन तथा खोजीका लागि सेतु एपमार्फत ट्र्याकिङको व्यवस्था गरिएको छ। सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकको विवरण सार्वजनिक गर्ने जिम्मेवारी गृह मन्त्रालय तथा नुवाकोट र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना गर्न सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेल सम्मिलित टोली परिचालन गरिएको छ। विद्युत् आपूर्ति पुनःस्थापना तथा वैकल्पिक विद्युत् व्यवस्थाका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल प्रहरी र गृह मन्त्रालय सम्मिलित टोली परिचालित छ।

थप ठूलो बाढीको जोखिम कायमै

प्राधिकरणले भोटेकोशी बाढीको तत्कालीन प्रभाव कम हुँदै गए पनि थप ठूलो बाढीको जोखिम कायमै रहेको चेतावनी दिएको छ।

भदौ ११ गते बिहान ११ः४४ बजे लिइएको स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणबाट रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ताल बनेको देखिएको प्राधिकरणले जनाएको छ।

उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढी आउनसक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सो क्षेत्रमा थप तालसमेत हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्राधिकरणले ल्हेन्दे खोला, भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको सतह र बहावबारे निरन्तर जानकारी लिन तथा प्रशासनबाट जारी हुने सूचनालाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित