Logo
Logo
विकास

भोटेकोसी बाढीले ढालेका मोबाइल टावर पाँच दिनमै पुनः सञ्चालनमा

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १५ गते ०३:४३
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुर्‍याए पनि नेपाल टेलिकम र एनसेलले युद्धस्तरमा काम गर्दै पाँच दिनमै अधिकांश प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएका छन्।

बाढीका कारण नेपाल टेलिकम र एनसेलका गरी १९८ वटा मोबाइल टावर प्रभावित भएका थिए। साथै २० भन्दा बढी फाइबर लिंकमा क्षति पुगेको थियो। बाढीपछि सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन समन्वयमा समेत कठिनाइ भएको थियो।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपाल टेलिकमका १२० टावरमध्ये १०६ वटा सञ्चालनमा आइसकेका छन् भने १४ वटा अझै अवरुद्ध छन्। एनसेलका ७८ प्रभावित टावरमध्ये ७५ वटा सञ्चालनमा आएका छन्। जिल्लागत रूपमा रसुवामा २६ मध्ये १९, नुवाकोटमा ७६ मध्ये ६८ र धादिङमा ९६ मध्ये ९४ वटा टावर सञ्चालनमा आएका छन्।

नेपाल टेलिकमले आइतबार थप सात स्थानमा सेवा पुनःस्थापना गरेको जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नेपाल–चीन सीमासम्मका टावरसमेत सञ्चालनमा ल्याइएको छ।

उनका अनुसार रसुवा बोर्डर बीटीएस टावरमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोसी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ। सेवा सञ्चालनमा आए पनि नेटवर्कको गुणस्तर र क्षमता सुधारका लागि थप काम भइरहेको छ।

एनसेलले पनि प्रभावित ७८ मध्ये ७५ वटा साइट सञ्चालनमा ल्याइसकेको जनाएको छ। अवरुद्ध तीन साइटमध्ये दुई वटामा पूर्वाधारमै ठूलो क्षति पुगेको छ। तीमध्ये एउटा नुवाकोट र अर्को टिमुरेको साइट हो। बाँकी एउटा साइट रसुवामा रहेको र त्यहाँ हवाई माध्यमबाट उपकरण तथा सामग्री पुर्‍याउनुपर्ने अवस्था रहेको एनसेलले जनाएको छ। नुवाकोटका सबै १६ टावर भने सञ्चालनमा आइसकेका छन्।

हवाई माध्यमबाट उपकरण र इन्धन ढुवानी

बाढीबाट सडक तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेपछि टावर पुनः सञ्चालनका लागि आवश्यक उपकरण, ब्याट्री र इन्धन हवाई माध्यमबाट पुर्‍याइएको थियो। नेपाल टेलिकम र एनसेलले हुवावे र जेडटीईको प्राविधिक सहयोगमा सेवा पुनःस्थापनाको काम अघि बढाएका हुन्।

सेवा पुनःस्थापनाका क्रममा २० पटकभन्दा बढी हवाई उडानमार्फत सामग्री प्रभावित टावरसम्म पुर्‍याइएको थियो। कम्पनीहरूका अनुसार १५ एमडीजी, २० ब्याट्री बैंक, २०० लिटर इन्धन तथा १० भन्दा बढी बीटीएस उपकरण एयरलिफ्ट गरिएको थियो।

बाढीका कारण २० भन्दा बढी फाइबर रुट पूर्वाधारमा समेत गम्भीर क्षति पुगेकाले सेवा पुनःस्थापना चुनौतीपूर्ण बनेको थियो। निरन्तर बाढीको जोखिम, प्रतिकूल मौसम र प्रभावित क्षेत्रमा फिल्ड टोली तथा सामग्री पुर्‍याउन कठिनाइ हुँदा मर्मत कार्यमा समस्या आएको थियो।

त्यसैगरी, ३० भन्दा बढी टावरमा इन्धन तथा सामग्री आपूर्तिमा अवरोध भएको थियो। टावर प्रभावित भएपछि बाँकी सञ्चालनमा रहेका सेलमा प्रयोगकर्ताको चाप अत्यधिक बढ्दा मोबाइल सेवा तथा डेटा सेवाको गुणस्तरमा समेत गिरावट आएको थियो।

कम्पनीहरूले १५० भन्दा बढी सेलको नेटवर्क अप्टिमाइजेसन गरी कभरेज तथा क्षमता बढाएका छन्। नेटवर्क पुनःस्थापनापछि कल सेटअप सफलता दर ९७ प्रतिशत पुगेको टेलिकम कम्पनीहरूले जनाएका छन्।

दूरसञ्चार सेवा प्रदायकहरूले अझै पनि बाँकी टावर पुनःस्थापना, आवश्यक स्रोतसाधन तथा लजिस्टिक व्यवस्थापन, २४ घण्टा नेटवर्क निगरानी र बढी चाप भएका क्षेत्रमा क्षमता विस्तारको काम जारी राखेका छन्।

बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन भएपछि सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार, राहत वितरण र आपत्कालीन समन्वयमा सहजता हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित