बाणगंगा नदीको बीचमा फसेका दुईमध्ये एकबालकको सशस्त्रद्वारा उद्धार, एक बेपत्ता

रुपन्देही । कपिलवस्तुको बाणगंगा नदीमा पानीको बहाव बढेपछि नदीको बीचमा फसेका दुई बालकमध्ये एकजनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ। अर्का बालक भने अझै बेपत्ता छन् ।
बाणगंगा नगरपालिका–४ स्थित मायादेवी रङ्गशालाको दक्षिणतर्फ बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बीचमा रहेको टापुमा फसेका थिए ।
नदीको बहाव बढेपछि उनीहरू टापुमा रहेको रुखमा चढेर बसेका थिए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी सुरक्षा बेस पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा टोली उद्धारका लागि परिचालन भएको थियो ।
सशस्त्र प्रहरीसहित नेपाल प्रहरीको टोलीले रबर बोटको प्रयोग गरी नदीको बीचमा पुगेको थियो। साँझ करिब ६ बजे उद्धार टोलीले १६ वर्षीय रिदम लामालाई सकुशल बाहिर निकालेको हो ।
१० वर्षीय बुद्ध लामा भने घटनास्थलमा फेला नपरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नदीमा खोजी तथा उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




