Logo
Logo
समाचार

बाढीले सरकारी कार्यालयका कागजात र उपकरण नष्ट, सेवा प्रवाह प्रभावित

बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ११ गते १३:१९
३७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

म्याग्दी । गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ।

बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो।

बेनी नगरपालिका–७ मा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा असोज ११ गते बिहान बराहपाखोबाट आएको बाढी पसेर क्षति पुर्‍याएको थियो। बाढीले कार्यालयका भुइँतलामा रहेका कोठा पुरिएपछि सेवा प्रवाह प्रभावित भएको हो।

केन्द्रले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ। तर, कार्यालयका महत्त्वपूर्ण कागजात, अभिलेख र उपकरण नष्ट भएकाले काम गर्न कठिन भएको पशु विकास अधिकृत गोपाल गिरीले बताए।

उनले भने, ‘नयाँ भवन निर्माण पूरा गरेर कार्यालय सञ्चालनमा ल्याएका छौँ। तर, कागजात, अभिलेख, औजार, उपकरण र फर्निचर बाढीले नष्ट गरेकाले समस्या भएको छ।’ उनले थपे, ‘यसअघि कार्यालय रहेका दुई भवनका भुइँतलाका सातवटा कोठामा रहेका सबै सामग्री र कागजात नष्ट भएका छन्।’

पशु अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि बेनी–७ मङ्गलाघाटमा ४७ लाख रुपैयाँ खर्चेर सातकोठे एकतले भवन निर्माण गरेको थियो। पुरानो कार्यालय भवन बाढीले पुरिएपछि सोही भवनबाट सेवा प्रवाह सुरु गरिएको हो। कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधनसमेत बाढीमा पुरिएका थिए।

भेटेरिनरी अस्पताल र डिभिजन वन कार्यालय परिसरमा थुप्रिएको माटो पन्छाउने काम अझै सकिएको छैन। माटो र गेग्रान हटाउन समय लाग्दा कार्यालयका भौतिक संरचना पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भएको छ। बाढीले बेनी नगरपालिकाको भवनमा पनि क्षति पुर्‍याएको थियो। भवनको भुइँतलामा रहेका कृषि र पशु सेवा शाखाले माटो पन्छाएर सेवा सुरु गरेका छन्। तर, बाढीले पुर्‍याएको क्षतिका कारण भेटेरिनरी र वन कार्यालयको नियमित कामकाज सहज हुन सकेको छैन।

डिभिजन वन कार्यालयको भुइँतलामा रहेको योजना शाखाका तीनवटा कोठामा पनि बाढीले क्षति पुर्‍याएको थियो। सवारीसाधन पार्किङ गर्ने ग्यारेजसमेत भत्किएको छ। भुइँतलाका शाखा र कार्यकक्षलाई नजिकै रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एकाइ भवनमा सारेर काम सुरु गरिएको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताए।

उनले भने, ‘जेनतेन कार्यकक्ष बनाएर काम सुरु गरेका छौँ। फर्निचर, कम्प्युटर, अभिलेख, प्रिन्टर र कागजात नष्ट भएकाले समस्या भएको छ।’ उनले थपे, ‘क्षतिग्रस्त भवन मर्मतका लागि बजेटको अभाव पनि अर्को चुनौती बनेको छ।’

कार्यालयका भवनमा क्षति पुग्नुका साथै महत्त्वपूर्ण अभिलेख नष्ट हुँदा सेवा प्रवाहमा थप चुनौती देखिएको छ। नयाँ ठाउँमा कार्यकक्ष बनाएर काम सुरु गरे पनि आवश्यक उपकरण र कागजातको अभावमा नियमित काम गर्न कठिन भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत र नष्ट भएका सामग्रीको व्यवस्थापन गर्न नसक्दा सरकारी कार्यालयको सेवा प्रवाहमा बाढीको असर कायमै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित