बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार जारी, ४ हजारभन्दा बढीको हवाई उद्धार
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार साँझ ६:३० बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १९१ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९०८ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
काठमाडौँ- नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहीबार साँझ ६:३० बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १९१ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ९०८ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
सेनाका अनुसार माथिल्लो त्रिशूली-१ को टनेलभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य गरिरहेको छ। खोजीका क्रममा फेला परेका मानव अंग तथा शव निकाल्ने काम भइरहेको निर्देशनालयले जनाएको छ।
त्यस्तै, त्रिशूली-३ए को टनेल तथा पावर हाउस क्षेत्रमा समेत खोजी कार्य जारी छ। त्रिशूली-३बी मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी पावर हाउस रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ।
रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत प्रभावित क्षेत्रमा बेस स्थापना गरी नेपाली सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। स्याफ्रुबेँशी क्षेत्रमा तीन वटा समूह परिचालन गरी खोजी कार्य भइरहेको छ।
सेनाले साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रमा खोज तथा मूल्यांकन गर्नुका साथै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्री ढुवानीसमेत गरिरहेको जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारका काम गरिरहेका छन्।
बाढीपीडित परिवारका लागि धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्यमा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा समेत सेनाले सहयोग गरिरहेको छ।
यसैगरी, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बुधबार २८ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ९६६ जना लाभान्वित भएको सेनाले जनाएको छ।
बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतलबजार सडक खुलाउने कामसमेत भइरहेको छ। बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनालगायत अन्य सुरक्षा फौज परिचालन गरिएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




