Logo
Logo
समाचार

बाढी–पहिरोले काठमाडौँ जोड्ने मुख्य राजमार्गहरू ठप्प, उपत्यकामा ‘नाकाबन्दी’को अवस्था

प्राकृतिक विपत्तिले उपत्यकालाई एकप्रकारले ‘नाकाबन्दी’कै अवस्थामा पुर्‍याइदिएपछि यसको सबैभन्दा ठुलो प्रभाव दैनिक आपूर्ति शृङ्खलामा पर्ने देखिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १० गते ००:४५
५३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने सबै मुख्य राजमार्ग पूर्ण रूपमा ठप्प छन् । उपत्यका प्रवेश गर्ने विकल्पका रूपमा अहिले ‘त्रिभुवन राजपथ’ मात्रै सञ्चालनमा छ, तर त्यहाँ पनि सवारीसाधनको चाप बढेको छ ।

प्राकृतिक विपत्तिले उपत्यकालाई एकप्रकारले ‘नाकाबन्दी’कै अवस्थामा पुर्‍याइदिएपछि यसको सबैभन्दा ठुलो प्रभाव दैनिक आपूर्ति शृङ्खलामा पर्ने देखिएको छ ।

अविरल परिरहेको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले अत्यावश्यक बाहेक लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । त्यसकारण अहिले सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन काठमाडौँका सडकमा लाइन लगाएर राखिएको छ । यस्तै बाढी–पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौँ यात्रु बिचल्लीमा परेका छन् भने आपूर्ति शृङ्खला नराम्ररी प्रभावित हुँदा बजारमा महँगी र अभावको त्रास बढेको छ ।

कहाँ–कहाँ छन् सडक अवरुद्ध ?

पहिरो र सडक भासिने क्रम नरोकिएपछि प्रशासनले मुख्य राजमार्गहरूमा अनिश्चितकालका लागि सवारी आवागमनमा रोक लगाएको छ । काठमाडौँ भित्रिने मुख्य नाका पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडक धादिङ खण्डका ५ स्थानमा पूर्ण रूपमा अवरुद्ध छ ।

बेनीघाट रोराङका कृष्णभिर, तिग्राडखानी, ज्यामिरेघाट र ज्वाङखोला तथा गजुरीको परेवा भिरमा ढुंगासहितको पहिरो खसेको छ । नागढुंगा–मुग्लिन सडक योजनाका अनुसार कृष्णभिरमा सडकको तल्लो भागमा लगाइएको ग्याबिन वाल झरे पनि मुख्य ट्र्याक सुरक्षित छ, तर अन्यत्रको पहिरोले त्यहाँसम्म पुग्न सकिने अवस्था छैन ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, बेनीघाट रोराङ–१० तिग्राडखानी, बेनीघाट रोराङ–९ ज्यामिरेघाट, गजुरी गाउँपालिका–२ परेवा भिर र बेनीघाट रोराङ–१० ज्वाङखोलामा सडक अवरुद्ध भएको छ ।

कृष्णभिरमा माथिबाट ढुंगासहित पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ । पहिरो पन्छाउने काम भइरहे पनि ढुंगा खस्ने क्रम नरोकिएपछि काम रोकिएको प्रशासनले जनाएको छ । तिग्राडखानी र ज्यामिरेघाटमा पनि ढुंगासहित पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ । दुवै स्थानमा सडक खुलाउने काम भइरहेको छ । गजुरी गाउँपालिका–२ स्थित परेवा भिरमा रुखसहित पहिरो खसेका कारण सडक एकतर्फी अवरुद्ध छ । त्यहाँ अवरोध हटाउने काम भइरहेको छ । त्यस्तै, बेनीघाट रोराङ–१० स्थित ज्वाङखोलामा ढुंगासहित पहिरो खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ । उक्त स्थानमा पनि पहिरो पन्छाउने काम भइरहेको छ ।

धादिङमा निरन्तर वर्षा भइरहेको र भारी वर्षाको सम्भावना कायमै रहेकाले सडकको अवस्था र जोखिमलाई ध्यानमा राखेरमात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक लामो दुरीको यात्रा नगर्न तथा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यस्तै, चितवनको इच्छाकामना–४, धारापानीमा सडक भासिएको छ भने सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ खण्डमा दिउँसो खुला गरिएको बाटो पनि सुरक्षाको दृष्टिकोणले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पुनः बन्द गरिएको छ । तनहुँको मुग्लिन–पोखरा खण्डका विभिन्न स्थानमा पनि पहिरो झरेर यातायात प्रभावित छ ।

बीपी राजमार्ग र कान्ति लोकपथ पनि ठप्प

पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने बीपी राजमार्ग र काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छन् । कान्ति लोकपथअन्तर्गत ललितपुरको गोदावरीस्थित बिर्खेंधारा, बागमतीको पाङदुरडोल, टाकुर्चे र छपेलीमा पहिरो आएर सडक बन्द छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाउने दाबी गरे पनि निरन्तरको झरीले काम प्रभावित भएको छ ।

यस्तै, नेपालका पूर्वी जिल्लालाई काठमाडौँसँग जोड्ने मुख्य लाइफलाइन बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकास्थित चारसयबेँसी र गिम्दीबेँसीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध छ । रोशी खोलाले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ भने प्रशासनले यो राजमार्गमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

वैकल्पिक मार्गको सकस, त्रिभुवन राजपथम ठुला सवारी रोक

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहीबार राति ८ बजेदेखि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई नागढुङ्गामै रोकिएको छ । उपत्यका ट्राफिक प्रहरीले काठमाडौँबाट बाहिरिने साना सवारी साधनलाई दक्षिणकाली–फाखेल सडक खण्डबाट र टोखा–छहरे हुँदै नुवाकोटतर्फ पठाइरहेको छ, तर दक्षिणकाली–सिस्नेरी सडक भने वर्षाले अवरुद्ध छ । काठमाडौँ भित्रिनका लागि मकवानपुरको पालुङ हुँदै त्रिभुवन राजपथबाट चल्ने सवारीलाई एकतर्फी गरिएको छ, जसका कारण त्यहाँ लामो जाम छ ।

यस्तै त्रिभुवन राजपथमा सवारी आवागमनका लागि समयतालिका लागु गरिनुका साथै ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनका लागि आलोपालो प्रणालीअन्तर्गत निश्चित समयतालिका निर्धारण गरेको हो । महेन्द्र र पृथ्वी राजमार्ग अवरुद्ध भई त्रिभुवन राजपथमा अत्यधिक सवारी चाप बढेपछि ट्राफिक व्यवस्थापन सहज बनाउन हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ ।

प्रशासनका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारीका लागि (चौकीटोलबाट प्रस्थान) असोज ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ । असोज १० गते शनिबार बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सवारी सञ्चालन गर्न सकिनेछ ।

त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीका लागि (सिमभञ्ज्याङ चौकीबाट प्रस्थान) असोज ९ गते शुक्रबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म, असोज १० गते शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म समय निर्धारण गरिएको छ ।

सडकको अवस्था र जामको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले ठुला मालवाहक सवारी सञ्चालनमा समेत रोक लगाएको छ । अर्को व्यवस्था नभएसम्म इन्धन र एलपी ग्यास बोकेका सवारीबाहेक ठुला मालवाहक सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । १० चक्केभन्दा लामा र १५ टनभन्दा बढी भार भएका अन्य सबै मालवाहक सवारीलाई उक्त सडकखण्डमा सञ्चालन गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

यात्रुवाहक बसको हकमा भने बढीमा ११ मिटर लम्बाइसम्मका बसलाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।

देशभर अन्य कहाँ अवरुद्ध छन् सडक ?

लुम्बिनी प्रदेशमा बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै सडकमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । पाल्पाको तिनाउ–५ स्थित चरचरे र जोरधाराबिच पनि पहिरोले सडक बन्द भएको छ । यस्तै, गुल्मीको कालीगण्डकी करिडोर (रावसे र पातिखोला) र रोल्पाको घोराही–थवाङ सहिदमार्ग (ब्याङखोला) पूर्ण रूपमा अवरुद्ध छन् ।

कोशी प्रदेशमा ओखलढुंगाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङस्थित भँडारे खोलामा लेदोसहितको बाढी आउँदा करिब १५ मिटर सडक बगाएको छ, जसले गर्दा आवातजावत पूर्ण रूपमा बन्द छ । यस्तै सुनसरीको चतरा–बराहक्षेत्र सडक पनि पहिरोले रोकिएको छ ।

यसबाहेक बागमती प्रदेशका पासाङल्हामु राजमार्ग, मैलुङ–स्याफ्रुबेशी सडक र कालुपाण्डे राजमार्ग पनि बाढी र पहिरोका कारण ठप्प छन् ।

सडक खुलाउन के गर्दैछ विभाग ?

वर्षा र विपद्लाई मध्यनजर गर्दै विभागले सडक अवरुद्ध भएको खण्डमा तत्काल उद्धार तथा मर्मत गर्न सक्ने गरी विशेष कार्ययोजना लागु गरेको छ ।

विभागका अनुसार देशभरका विभिन्न संवेदनशील तथा जोखिमयुक्त खण्डहरूमा २४० भन्दा बढी हेभी मकेसिनहरू स्ट्यान्डबाई राखिएका छन् । कुनै पनि स्थानमा पहिरो गएर सडक अवरुद्ध भएमा आधा घण्टाभित्र उपकरण पुग्ने र अधिकतम दुई घण्टाभित्र सडक सञ्चालन गर्ने नीति लिइएको छ, तर निरन्तर परिरहेको वर्षाका कारण अवरुद्ध सडक खुलाउन नसकेको सडक विभागले जनाएको छ ।

मेसिन सञ्चालनमा इन्धन अभाव हुन नदिन कम्तीमा ४८ घण्टा (दुई दिन) लाई पुग्ने डिजेल तथा आवश्यक इन्धन ड्रममा राखेर मेसिनसँगै फिल्डमा पठाइएको छ । यसका साथै इन्जिनियर, सब–इन्जिनियर, सुपरभाइजर र मेसिन अपरेटरहरूलाई २४सै घण्टा फिल्डमै खटाइएको विभागले जनाएको छ । सरकारी स्रोतसाधन अपुग भएमा तत्काल निजी क्षेत्रका हेभी उपकरणहरू भाडामा लिन सकिने कानुनी तथा प्राविधिक संयन्त्रसमेत तयार पारिएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित