अमरेशको दाबी- संविधान असफल बनाउन आन्तरिक र बाह्य शक्ति लागेका छन्
सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने बताए । कुनै कारणवश वर्तमान संविधान गुमेमा देश गृहयुद्धको चक्रब्यूहमा फस्ने र मधेशले जनयुद्ध तथा मधेश आन्दोलनको जगमा प्राप्त गरेका अधिकार तथा उपलब्धिहरू समेत समाप्त हुने उनको जिकर छ ।

काठमाडौं । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने बताए । कुनै कारणवश वर्तमान संविधान गुमेमा देश गृहयुद्धको चक्रब्यूहमा फस्ने र मधेशले जनयुद्ध तथा मधेश आन्दोलनको जगमा प्राप्त गरेका अधिकार तथा उपलब्धिहरू समेत समाप्त हुने उनको जिकर छ ।
केन्द्रको सत्ता सञ्चालन गर्नेहरूले मधेशलाई सधैँ उपेक्षा गरेको आरोप लगाउँदै मधेश र कोशी प्रदेशलाई रणनीतिक रूपमा ‘ब्याटल ग्राउन्ड’ बनाउने दुष्प्रयास भइरहेको सिंहको आरोप छ ।
आफ्नै पार्टीको सरकार भए पनि जनताका सवालमा सरकारलाई निरन्तर खबरदारी गरिरहने उनले प्रष्ट्याए । सांसद सिंहले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति-सुरक्षा र सरसफाइ जस्ता आधारभूत आवश्यकताहरू अझै लथालिङ्ग अवस्थामा रहेको उल्लेख गर्दै मधेशमा हालसम्म स्तरीय सरकारी मेडिकल कलेज वा सुपर स्पेसियालिटी अस्पताल नहुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरे ।
मधेशका वास्तविक समस्या, जनअपेक्षा तथा विकासका चुनौतीहरूलाई प्रत्यक्ष रूपमा बुझ्न आगामी छठ पर्वको अवसर पारेर जनकपुरधामबाट ‘मेची-महाकाली पैदल यात्रा’ सुरु गर्ने उनले घोषणा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




