वैदेशिक बजारमा पनि देखिने भयो फिल्म ‘कुमारी’को जादु

माघ २३ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको नयाँ पुस्ताको प्रेमकथा आधारित फिल्म ‘कुमारी’ ले रिलिज हुनुअगावै अन्तर्राष्ट्रिय बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। नेपालमा रिलिज हुन केही साता मात्र बाँकी रहँदा फिल्मका निर्माता महेन्द्र अधिकारीले यसलाई विश्वका विभिन्न मुलुकमा प्रदर्शन गर्ने तयारी पूरा भएको जानकारी दिएका हुन्। ट्रेलर सार्वजनिक भएपछि आएको सकारात्मक प्रतिक्रियाका कारण अमेरिका, अस्ट्रेलिया, क्यानडा र मध्यपूर्वका देशहरूबाट फिल्मको उच्च माग आएको र सोही अनुसार प्रदर्शनका लागि सम्झौताहरू सम्पन्न भएका छन्।
फिल्मको अन्तर्राष्ट्रिय वितरणका लागि विभिन्न प्रतिष्ठित कम्पनीहरूले हात हालेका छन्। अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडोले वितरणको जिम्मा लिँदा अस्ट्रेलियामा असकास्ट नेपाल र थ्रीकेजी इभेन्ट्सले यसको प्रदर्शन व्यवस्थापन गर्ने भएका छन्। त्यसैगरी, क्यानडामा मेरो इभेन्ट्स र मध्यपूर्वका देशहरूका लागि रमेश ढकालको नेपफिल्म्सले फिल्मको वितरण अधिकार सुरक्षित गरेका छन्। विदेशमा रहेका नेपाली दर्शकहरूले पनि फरक–फरक मितिमा यो प्रतिक्षित फिल्म हेर्न पाउने वातावरण मिलाइएको निर्माता अधिकारी बताउँछन्।
दिनेश राउतको निर्देशनमा तयार भएको यस फिल्मले समकालीन युवा पुस्ताको प्रेम र सम्बन्धको कथालाई रोचक ढङ्गले प्रस्तुत गरेको छ। फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काको जोडीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शमा लगायतका कलाकारहरूको अभिनय समेटिएको छ। कलात्मक मेकिङ र कलाकारहरूको जीवन्त अभिनयले फिल्मलाई थप विशेष बनाएको छ।
फिल्मका गीतहरूले त प्रदर्शन अगावै नै एउटा ठूलो रेकर्ड बनाइसकेका छन्। विशेषगरी लोकलयको स्वाद बोकेको गीत ‘डोको बुन्ने’ ले युट्युबमा ६० लाखभन्दा बढी भ्यूज बटुलेर चर्चाको शिखर चुमेको छ। यसका साथै ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता गीतहरूले पनि दर्शकमाझ फिल्मप्रति ठूलो कौतुहलता जगाएका छन्। संगीतको बलियो साथ पाएको ‘कुमारी’ ले माघ २३ गतेदेखि नेपाली हलहरूमा र लगत्तै वैदेशिक बजारमा कस्तो व्यापार गर्छ भन्नेमा सबैको ध्यान मोडिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
सिफारिस

नेपथ्यको 'स्वदेश यात्रा' फेब्रुअरीबाट: चार सहरमा सांगीतिक धमाका

ऊनको स्वीटर' अब युट्युबमा: हलमा तहल्का मच्चाएपछि डिजिटल प्लेटफर्ममा झुल्किए विपिन र मिरूना

कलाकारीताबाट राजनीतिमा फड्को: रास्वपा प्रवेश गर्दै प्रकाश सपुतले भने– 'यो मेरो जीवनको कठोर निर्णय हो

