८० को दशकको फोटो बनाउँदा यसरी चुहिन्छन् तपाईंका गोप्य जानकारीहरु
एआई च्याटबटहरुमा अन्धाधुन्ध फोटोहरु अपलोड गर्दै गर्दा भोलिका दिनमा गम्भीर साइबर सुरक्षाका जोखिमहरु निम्तिन सक्छन् । सयौं फोटाहरुका बीच एउटा फोटो एआई च्याटबटमा अपलोड गर्नु हामी धेरैका लागि सामान्य कुरा हुन सक्छ । तर, जब हामी च्याटजिपिटी, जेमिनी वा अन्य कुनै पनि एआई एपमा फोटो अपलोड गर्छौं, तब हामीले एउटा फोटोको माध्यमबाट धेरै जानकारी अपलोड गरिरहेका हुन्छौं ।

एजेन्सी । हिजो आज सामाजिक सञ्जालमा ८० को दशकको शैलीका एआई फोटोहरु हाल्ने ट्रेण्ड नै चलेको छ ।
हरेकले एआईमार्फत् निर्मित फोटोहरु सामाजिक सञ्जालमा हालिरहेका छन् । आफ्नो फोटोलाई ट्रेण्ड चलिरहेको शैलीमा रुपान्तरण गर्न हामी एआईको सहारा लिइरहेका छौँ ।
एआईले बनाइदिने चेरी–रातो रङमा स्टाइलिस फोटो देख्दा हामी सबै मोहित हुन्छौँ । यस्तो फोटो बनाउन समय पनि लाग्दैन । लाखौँ मान्छेहरुले मिनेटभरमै यस्ता फोटोहरु बनाउँदै सञ्जालमा अपलोड गरिरहेका छन् ।
एआईसँग रमाइलो गरिरहँदा गम्भीर चिन्ता पनि थपिँदै गएको छ । हामीले साइबर सुरक्षालाई बेवास्ता गरिरहेका छौं । वायर्ड पत्रिकाको हालैको एक प्रतिवेदन अनुसार एआई च्याटबटहरुमा अन्धाधुन्ध फोटोहरु अपलोड गर्दै गर्दा भोलिका दिनमा गम्भीर साइबर सुरक्षाका जोखिमहरु निम्तिन सक्छन् ।
सयौं फोटाहरुका बीच एउटा फोटो एआई च्याटबटमा अपलोड गर्नु हामी धेरैका लागि सामान्य कुरा हुन सक्छ । तर, जब हामी च्याटजिपिटी, जेमिनी वा अन्य कुनै पनि एआई एपमा फोटो अपलोड गर्छौं, तब हामीले एउटा फोटोको माध्यमबाट धेरै जानकारी अपलोड गरिरहेका हुन्छौं ।
हाम्रा फोटाहरुमा मेटाडाटाहरु लुकेका हुन्छन् । हरेक फोटोमा उक्त फोटो कहिले खिचिएको थियो, कुन क्यामेरा प्रयोग गरिएको थियो र कहाँ खिचिएको थियो भन्ने जानकारी हुन्छ ।
हाम्रो अनुहारमा पनि आफ्नै विशिष्ट पहिचान हुन्छ, एआईहरुले हाम्रो त्यो पहिचान पनि संकलन गर्छन् ।
वायर्डको उक्त प्रतिवेदनमा इनवाईसी आबुधबीका साइबर सुरक्षा विशेषज्ञ क्रिस्टिना पोपरले एआई च्याटबटहरुले एकैपटक धेरै तहका सूचनाहरु संकलन गर्ने बताएकी छन् ।
फोटो अपलोड गर्दा फोटोसँगै प्रयोगकर्ताको फोन वा कम्प्युटरको आईपी एड्रेस र डिभाइसको नाम, यसका विवरण र फाइलहरु पनि सँगसँगै अपलोड हुने पोपरले बताएकी छन् ।
एआईहरुमा फोटो अपलोड भएपछि सक्कली फोटो त्यहाँ धेरै लामो समयसम्म सुरक्षित हुने गर्छ । कति समयसम्म रहन्छ भन्ने कुरा चाहिँ एआई कम्पनीहरुको डाटा रिटेन्सन नियमहरुमा भर पर्छ ।
जस्तै प्रयोगकर्ताले च्याट नमेटाउन्जेल च्याटहरु राख्छ । तर, च्याट मेर्टाए पनि ती जानकारीहरु भने ओपनएआईका सर्भरहरुमा ३० दिनसम्म रहन्छन् । अझैं लामो समयसम्म पनि रहन सक्छन् ।
गुगल जेमिनीले डाटाहरु १८ महिनासम्म सुरक्षित राख्छ । प्रतिवेदन अनुसार एआई च्याटबटहरुमा फोटो अपलोड गरिँदा एआई कम्पनीहरुले प्रयोगकर्ताको एउटा प्रोफाइल गुपचुप रुपमा तयार पार्न सक्छ ।
यसरी प्रोफाइल तयार पार्दा उनीहरुले प्रयोगकर्ताको बानी, रुचि र पेसाको समेत जानकारी खुल्न सक्छ । र त्यो जानकारी अनलाइन किनमेल, विज्ञापन लगायतमा काम गरिरहेका कम्पनीमा बिक्री समेत हुन सक्छन् ।
त्यसैले यस्ता फोटोहरु अपलोड गर्नुपर्ने खालका ट्रेण्डलाई बेवास्ता गर्न प्रतिवेदनले सुझाव दिएको छ । साथै आवश्यक नभएका पुराना च्याट र फाइलहरु एआई च्याटबटहरुबाट मेटाउन पनि सुझाव दिएको छ ।
हामीले हरेक दिन प्रयोग गर्ने यस्ता एपहरु धेरै खतरनाक नै हुन्छ भन्ने नभए पनि तिनीहरु पूर्णहरुमा सुरक्षित र गोप्य भने हुँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




