११ साउन २००६ मा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए ।
हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई ११ साउन २००७ मा पक्राउ गरी जेल हालेको थियो । सरकारले दुराडाँडाका हलो क्रान्तिका ब्राह्मणलाई थुन्ने रणनीति लिएछ। शेषकान्त र तोयानाथलाई गिरफ्तार गरी पोखरा पुर्याइएछ। बडाहाकिमले ‘राजद्रोही तिमीहरूलाई बाँकी राख्दिनँ’ भनी तर्साएछन्। तोयानाथले बाहुनले हलो जोत्न हुन्न भनी शास्त्रमा कहीँ उल्लेख छैन भनी प्रतिरक्षा गरेछन्।
उनीहरूलाई हतोत्साहित पार्न त्यतिखेर ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोती बिग्रे’ भन्ने गीत नै बनाएका थिए ।
त्यसबेला हलो जोत्नेलाई भात बारिएको थियो । माइत आएका छोरी घर जान पाएनन् भने घर गएका बुहारी माइत आउनसमेत रोक लागेको थियो । उमेर पुगेका युवायुवतीको बिहे नै रोकिएको थियो । तर, तीन वर्षपछि विभेद रोकियो ।
न पर्चा, न जुलुस, न त हड्ताल नै! हलो जोत्ने आन्दोलन सामाजिक क्रान्तिको रूपमा फैलन थाल्यो। बाहुनले हलो जोते भनेर कम्पन भयो। दुराडाँडामा सुरु भएको हलो क्रान्तिपछि २००६ पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ वैशाखमा अर्घाखाँची र गोरखाका साथै २००८ मा स्याङ्जामा हलो जोत्ने अभियान सुरु भयो ।
२००४ सालदेखि नै यो कुरा उठेको थियो। गाउँमा तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदासलगायतका केही व्यक्तिहरू विशेष सल्लाह हुन थाल्यो। हलो जोते के हुन्छ यसले किसानलाई सजिलो पर्छ। आफूले हलो जोत्न नहुने र हली लगाउन मुस्किल पर्ने कुराको अन्त्य हुन्छ। समयमा खेती गर्न पाउँदा उब्जनीमा वृद्धि हुन्छ। सँगसँगै चल्दै नचलेको परम्परा तोडिन्छ, हलचल हुन्छ र नयाँ चेतनाले जन्म लिन्छ भन्ने सल्लाह भयो र हलो जोतियो।
पण्डित तोयानाथले जम्मा ४ सियो हलो जोत्नुभएको थियो, पहिलो सियो कृषि क्रान्ति, दोस्रो शिक्षा, तेस्रो राजनीति र चौथो सियो समानताका लागि थियो।
७ फागुन, २००७ सालबाट राणाशासन उखेलियो। तर, हलो क्रान्तिको असर भने २०११/१२ सालसम्म पनि कायमै रह्यो। २०११ सालमा गोरखाको काफलडाँडामा भएको बिहेको जन्तेबाख्रो भोजमा हलो जोत्ने र नजोत्ने बाहुनहरूबीच निकै चर्काचर्की चल्यो। त्यहाँ ‘जात राजाको, भात भताहा’ को भन्ने उखान चरितार्थ भएको थियो। भताहाले भात खाऊन् नखाऊन् हलो जोताहाहरूले कुनै मतलब राखेनन्।
गोरखा हर्मी भञ्ज्याङमा एउटा विवाहमा हलो जोताहा र नजोताहा ब्राह्मणबीच भातभान्सा चल्ने नचल्ने विवादले चर्को रूप लिएछ। एउटा पक्षले जोताहा पक्षकालाई १५ सय रुपैयाँ जरिवाना तोकेछ। जोताहा पक्षधरले यदि जरिवाना तिरेर हुने भए दलितसँग पनि जरिवाना लिई भातभान्सा चलाऔं भनेछन्। अन्ततः भोजै भाँडिएछ।
धादिङको केवलपुरमा पनि त्यस्तै घटनाको दृष्टान्त छ। देवीप्रसाद पौडेलको नेतृत्वको हलो काण्डले गाउँमा बिहेबारी नै रोकिएपछि झंकप्रसाद बाँस्कोटाले बडाहाकिमलाई नै ल्याएर भोज गराए। बडाहाकिमको रोहवरमा हलो जोत्ने र नजोत्नेहरूलाई सँगै एउटै भान्सामा भात खुवाए। त्यसपछि बल्ल सामाजिक विधि व्यवहार पुनः थालनी भयो।
ब्राह्मणले पहिलोपटक हलो जोतेको सम्झनामा हरेक वर्ष ११ साउनमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा औपचारिक कार्यक्रम हुँदै आएको छ। प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो ।
हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।