व्यास नगरपालिकाअन्तर्गतका चालक र कार्यालय सहयोगीका लागि ट्राफिक सचेतना एवं आतिथ्यता व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
व्यास नगरपालिकाको आयोजनामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा व्यास नगरपालिकाका चौधवटै वडाका चालक र कार्यालय सहयोगीलाई उक्त कार्यक्रम प्रदान गरिएको हो । नगरपालिकाले पहिलोपटक यस किसिमको कार्यक्रमको आयोजना गरेर कर्मचारीलाई सहभागी गराएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा ६२ जनाको सहभागिता रहेको छ । उहाँले भन्नुभयो, “सामान्य कुराको पनि ज्ञान नभएको देखिएकाले आवश्यकता महसुस गरी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।” उक्त अभिमुखीकरण कार्यक्रमपश्चात् चालक र कार्यालय सहयोगी कर्मचारीको व्यवहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका तालीम संयोजक टापेन्द्र रिजालले आतिथ्यता व्यवस्थापन, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकास, वरिष्ठ आलेप अधिकृत कुमारकञ्चन जिसीले कार्यालय सरसफाइ र व्यवस्थापन तथा जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक राजु श्रेष्ठले ट्राफिक नियम र सडक अनुशासन विषयमा प्रशिक्षण दिनुभएको थियो ।