फेसबुकका संस्थापक मार्क जुकरबर्गले ११ हजार कर्मचारीलाई निकाल्ने

भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, विज्ञापन र मेटाभर्स जस्ता क्षेत्रमा लगानी गर्ने



अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।

 

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन्।

 

मार्क जुकरबर्गले यो निर्णयलाई मेटाको इतिहासमा सबैभन्दा कठिन निर्णय भनेका छन् ।

 

यो कदम पछि मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘मलाई थाहा छ यो सबैका लागि गाह्रो छ र म यस निर्णयबाट प्रभावित सबैसँग माफी चाहन्छु।’

 

मार्क जुकरबर्गले यो निर्णयको श्रेय कोरोना महामारीको समयमा बढेको नाफाका कारण व्यापार वृद्धिको दीर्घकालीन अपेक्षालाई दिएका छन् । उनले लेखेका छन्, ‘धेरैले यो बूम स्थायी हुने अनुमान गरेका थिए। मैले पनि त्यही अनुमान गरेको थिएँ । त्यसैको आधारमा मैले आफ्नो लगानीमा उल्लेख्य वृद्धि गरेको छु । तर बृहत् आर्थिक गिरावट अर्थात् आर्थिक वृद्धि सुस्त हुनु र बढ्दो प्रतिस्पर्धाका कारण नाफा अपेक्षाभन्दा बढी घटेको हो ।’

 

यससँगै मार्क जुकरबर्गले आफूले गलत मूल्याङ्कन गरेको र त्यसको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार जुकरबर्गले गत मंगलबार सयौं कर्मचारीलाई यसबारे जानकारी दिएका थिए ।

 

मार्क जुकरबर्गले आफ्नो कम्पनीले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, विज्ञापन र मेटाभर्स जस्ता क्षेत्रमा लगानी गर्ने बताएका छन्, जसमा वृद्धिको उच्च सम्भावना छ।

 

यससँगै मेटाले आफ्नो भवन कार्यालयमा हुने खर्च घटाउने भएको छ । यसका साथै कम्पनीले आगामी दिनमा डेस्क सेयरिङ मोडलको प्रवर्द्धन गर्ने जनाएको छ ।

Comments Box