अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट रु ७० लाख घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उक्त रकम बिगो कायम गरी सजायका निम्ति आज उक्त अदालतमा मुद्दा दायर गरेको हो ।
घुस बापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुनुपर्ने मागदाबी गर्दै आयोगले निजको छोरा नवीनकुमारको बैंक खातामा रु ४० लाख जम्मा भएको जनाएको छ । आयोगले नवीनकुमारलाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी मुद्दा दायर गरेको हो ।
आरोपी मिश्रलाई घुस रकम उपलब्ध गराउने ग्याल्जेन एण्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैँले रु २५ लाख दिएको पुष्टि भएकाले त्यति नै रकम बिगो कायम गरी मतियार बनेका निजको सम्पत्तिबाट बिगो भराउन माग गरिएको छ । ग्याल्जेनको मृत्यु भइसकेकाले सरकारी वा निजी बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्थाअनुसार कारबाही हुन माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
घुस लिएको अभियोगमा मुद्दा
काठमाडौँ, ९ फागुन २०७७ (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगर गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हबल्दार सरवनकुमार बस्नेतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार घरायसी प्रयोजनका लागि काठ तथा दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले बस्नेतलाई केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगका अनुसार सशस्त्र प्रहरी हबल्दार बस्नेतले घुस लिएको पुष्टि भएको पाइएपछि बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।