नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलहरू मोबाइलमा सहजै हेर्न मिल्ने गरी एनसेलले आफ्ना ग्राहकहरूका लागि विशेष प्याकेज ल्याएको छ। एनपीएलको डिजिटल स्ट्रिमिङ पार्टनर डिशहोमको सहकार्यमा एनसेलले ‘एनपीएल प्ले प्याक’ सञ्चालनमा ल्याएको हो।
यो प्याक खरिद गर्ने ग्राहकहरूले डिशहोम गो एपमार्फत हाल चलिरहेका एनपीएल खेलहरूको प्रत्यक्ष प्रसारण आफ्नो मोबाइलमा हेर्न पाउनेछन्।
एनसेलले ग्राहकहरूले बन्डल डेटासहित यो सुविधा प्राप्त गर्न सक्ने जनाएको छ। करसहित २९९ रुपैयाँ शुल्क तोकिएको यो प्याक २८ दिनका लागि मान्य हुनेछ। प्याक खरिद गर्ने ग्राहकले १ जीबी डेटा बन्डल सेवाको रूपमा पाउँछन्, जसको मुख्य आकर्षण भनेको डिशहोम गो एपमार्फत खेलहरू लाइभ हेर्नका लागि सहज पहुँच सुनिश्चित गर्नु हो।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले बन्डल डेटासहित ग्राहकलाई मोबाइलमै एनपीएलको प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाउन पाएकोमा खुसी व्यक्त गरे। उनले डिशहोमसँगको सहकार्यले क्रिकेटको रोमाञ्चकतालाई अझ बढाउने र ग्राहकहरूलाई खेल निर्बाध रूपमा हेर्ने सुविधा प्रदान गरेको उल्लेख गरे।
ग्राहकले यो प्याक एनसेल एप, *१२३# डायल गरेर वा देशभरका खुद्रा विक्रेताहरूमार्फत खरिद गर्न सक्छन्। प्याक खरिद गरेपछि मोबाइल नम्बरमा प्राप्त हुने एसएमएसमार्फत ग्राहकले डिशहोम गो एपमा लगइन गरी एनपीएलका सबै खेलको लाइभ मजा लिन सक्नेछन्।
यस संस्करणमा पनि एनसेल ‘पावर्ड वाइ’ पार्टनरको रूपमा आबद्ध छ। यसपटक कम्पनीले ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नारा लिएको छ। एनसेलले खेललाई थप रोचक बनाउन ‘एनपीएल फ्यान प्याक’ हरू पनि सार्वजनिक गरिसकेको छ।
यसैगरी, कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (CSR) अन्तर्गत एनपीएल फाउन्डेसनमार्फत कार्य जारी राखेको छ। कम्पनीको घोषणा अनुसार, एनपीएलका खेलहरूमा प्रहार हुने प्रत्येक चौका बापत ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री प्रदान गरिनेछ।
