बारामा एमाले सबैभन्दा ठुलो दल; कसरी उल्टियो ०७४को नतिजा ?



स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक पाँच पालिकामा प्रमुख, उपप्रमुख र एक पालिकामा उपप्रमुखमा विजयी भएको हो ।

 

नेकपा एमालेले कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, निजगढ र पचरोटामा नगरपालिकामा प्रमुख र उपप्रमुख, परवानीपुर र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ ।

अघिल्लो पटकको निर्वाचनमा प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ । यसअघि प्रमुख सहित जित हात पारेको स्थानमा अहिले फरक नतिजा प्राप्त गरेको एमालेले अन्य पालिकामा भने आफूलाई उभ्याउँन सफल भएको छ ।

 

एमालेसँग अहिले ११ जना पालिका प्रमुख र उपप्रमुख छन् । एमालेले पाँच स्थान जित्दा यसअघि जित हात पारेको उपमहानगरपालिका भने कांग्रेसले गुमाएको छ । अघिल्लो पटक एक उपमहानगरपालिका, तीन नगरपालिका सहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सिमित छ । कांग्रेसले कोल्हवी, महागढीमाई, आदर्श कोत्वाल र सुवर्णमा भने जित हात पार्न सफल भएको छ । अघिल्लो पटक पहिले पार्टी रहेको कांग्रस यो पटक भने दोस्रोमा चित्त बुझाएको छ ।

 

कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटा मैं सफलता हात पार्न सकेन् । माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको रेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तीन पालिका सहित तेश्रो भएको छ । जिल्लाको सिम्रौनगढ, बारागढी र विश्रामपुरमा जित हात पार्न सफल भएको छ । यस अघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

जिल्लाको दुई पालिकामा जनता समाजवादी पार्टीले जित हात पार्न सफल भएको छ । जसपाले देवताल र करैयामाईमा जित हासिल गरेको छ । यस अघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो ।

जिल्लामा माओवादी केन्द्र र विवेकशील साझा पार्टीले पहिले पटक खाता खोल्न सफल भएका छन् ।

माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका जित हात पार्न सफल भएको छ भने विवेकशील साझा पार्टीले फेटा गाउँपालिकामा जित हासिल गरेको छ । यस अघि २०७४ को निर्वाचनमा जीतपुरसिमरामा एमालेले र फेटा गाउँपालिकामा संघीय समाजवादी फोरमले जित हासिल गरेको थियो ।


कलैयामा नवनिर्वाचित मेयरलाई तौल बराबरको लड्डुले स्वागत

बारा, ७ जेठ: बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह, उपमेयर रौशन प्रवीणसहित १० नम्बर का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले उनीहरूको तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

 

 

आज विजय र्‍याली गर्ने क्रममा वडा नम्बर १० मा पुगेका उनीहरूलाई स्थानीय महमद गजनी ठकुराईले जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

 

स्वागतपछि मेयर साहले स्थानीयले आफूमा धेरै भरोसा गरेकाले आफ्नो कार्यकालमा कुनै जात तथा समूह नहेरी नगरवासीको निम्ति कार्यगर्ने बताए ।

 

आफूलाई स्वतन्त्र बताउने ठकुराईले नवनिर्वाचित जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताएका छन् ।

 

कलैयाको मेयरमा साह २४ हजार १३९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत ल्याए । २०७४ सालको निर्वाचनमा साहलाई हाल पराजित भएका नेपाली कांग्रेसका यादवले हराएका थिए ।

 

उपमेयरमा परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी भएकी हुन् । उपमेयरमा निकटतम प्रतिद्वन्द्वी प्रमोद गुप्ताले ८ हजार ३०२ मत पाए ।

Comments Box