कर्णाली वेभरेजले वाईन बनाउन मुसीकोटमा उत्पादित किवी खरिद गर्ने

कर्णाली वेभरेज किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो रु एक सय २५ मा खरिद हुने



१७ मंसिर, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् ।

 

किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो

 

उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी कर्णाली वेभरेज प्रालिले खरिद गर्ने भएको हो ।

 

आठबीसकोट नगरपालिका–१२ झिनचौरमा रहेको उक्त प्रालि र किसानको सहमतिअनुसार फलाएको किवी प्रतिकिलो रु एक सय २५ मा खरिद हुने नगर प्रमुख रवि केसी जानकारी दिए ।

 

उनका अनुसार यस नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११ र १२ मा एक सय ४२ क्विन्टल किवी उत्पादन भएको छ । ६ वटा वडामा गरेर अहिले नगरपालिकामा ४७ जना व्यावसायिक किवी उत्पादक किसान छन् । पहिलो स्थानीय सरकारले किवी खेतीलाई जोड दिएपछि नगरपालिकामा किवी खेती गर्ने किसानको सङ्ख्या धेरै पुगेको छ ।

 

सरकारले किसानलाई अनुदानमा ठूलो मात्रामा किवीको बिरुवा विरतरण गरेको थियो भने किसान आफैँले किनेर पनि बिरुवा लगाएका थिए । नगरपालिकामा गत वर्ष मात्र दुई हजार एक सय वटा किवीका बिरुवा रोपिएका थिए । अहिले नगर भरमा करिब एक हजार पाँच सय किवीका बोटले उत्पादन दिइरहेको नगरपालिकाको अनुमान छ ।

 

ती बोटबाट करिब एक सय ४२ क्विन्टल किवी उत्पादन हुने अनुमानसहित नगरपालिकाको रोहवरमा उक्त प्रालि र किसानबीचमा सहमति भएको हो । त्यस्तै नगरपालिकाले ढुवानीका लागि अनुदान पनि दिने भएको छ । किसानको बारीबाट वडा नम्बर १२ मा रहेको कम्पनीसम्म किवी पुर्‍याउन लाग्ने भाडा नगरपालिकाले तिरिदिने नगर प्रमुख केसी बताउँछन् ।

 

अहिलेसम्म किसानले आफैँ किवी बिक्री गरिरहेकामा पहिलोपटक नगरभरको किवी एकमुस्ट बिक्री हुन लागेको हो । नगरमै किवी खपत हुने र ढुवानीमा अनुदान पाइने भएपछि कृषक खुसी भएका छन् । कर्णाली वेभरेजले वाइन तथा विभिन्न जुस उत्पादन गरिरहेको छ ।


जम्मा २०० रुपैँया मा १ केजी किवी ?

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५, पेदाङका युवती बारीमा लगाएको किवी टिप्दै । प्रति किलो किवी बजारमा रु १०० देखि २०० सम्ममा बिक्री हुँदै आएको छ ।

 

 

 

म्याग्दीमा कृषिको नयाँ आयाम: किवि खेतिले कृषकमा ल्याएको हर्ष

१ बैशाख, (रासस) : जङ्गल छेवैको पाखोबारी ! वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । सम्पूर्ण परिवारले मरिमेटी गर्दा समेत खेतीपातीले घर खर्च चलाउन कठिन हुँदा किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन ।

 

म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले जान्ने भएको बेलादेखि नै आफ्नो बारीमा कोदो, मकै र आलुबाहेक केही लगाउनुभएको छैन । पहिले बाउबाजेले लगाउँदा देखेकै आधारमा आफूले जान्ने भएपछि पनि त्यही खेती गर्नुभयो । पछिल्लो समय व्यावसायिक खेतीको प्रचलन बढेपछि पुनले पनि आफ्नो बारीमा लगाउने खेती फेर्नुभएको छ । वर्षभरि खान पुग्ने र घर खर्च चलाउन विक्रीसमेत गर्न मिल्ने गरी उहाँले फलफूल खेती थाल्नुभएको छ ।

 

बयालिस वर्षीय पुनले मालिकामा रहेको १९ रोपनी पाखोबारी र खेतमा समेत किवीखेती शुरु गर्नुभएको छ । परम्परागत खेती परिवर्तन गरेका पुनले किवीबाट राम्रो आम्दानी हुन थालेपछि निकै हौसिनु भएको छ । विसं २०७४ मा रु ८० हजार लगानी गरेर उहाँले किवीखेती थाल्नुभएको हो । पहिलो वर्ष रु २१ हजार आम्दानी गर्नुभएका पुनले अहिले लाखौँ कमाउन थाल्नुभएको छ । “कोदो, आलु र मकैबाट खान मात्रै मुस्किलले पुग्थ्यो, अहिले सबै खर्च चलाउने पैसा किवीले कमाउँछ” उहाँले भन्नुभयो । पुनले गाउँमा नै पहिलोपटक किवीखेती शुरु गर्नुभएको हो ।

 

अहिले पुनको बारीमा झण्डै २०० किवीका बोट छन् । आम्दानीको राम्रो स्रोत देखेपछि पुनले किवी खेतीलाई नै व्यावसायिक बनाउने सोच बनाएको बताउनुभयो । एउटा किवीको बयस्क बिरुवाले राम्रो उब्जाउ दिँदा २० हजार बढीको दाना फल्छ । किवीको बजार मूल्यसमेत राम्रो रहेकाले उहाँले बर्सेनि लाखौँ आम्दानी हुने गरेको छ । किवीखेतीप्रति गाउँका अरु किसानले समेत उत्साह देखाएको उहाँले सुनाउनुभयो ।

 

किवीखेतीका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले पुनलाई रु तीन लाख अनुदान दिएको छ । उहाँले गाउँमा किवीसँगै टनेलमा गोलभेंडा खेती गर्ने गरेका छन् । “हामीले हाम्रो माटो सिञ्चिन नजानेकाले आम्दानी नभएको रहेछ” उहाँले भन्नुभयो “खेती प्रणालीमा परिवर्तन गर्दा राम्रो कमाउन सकिँदो रहेछ भन्ने बुझेको छु ।”

 

किवीखेतीका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गरेकाले उहाँलाई सजिलो भएको हो । म्याग्दीको अधिकांश भू–भागमा किवीको खेती राम्रो हुने कृषि विज्ञहरु बताउँछन् । समयमा बिरुवा पाउने र उचित सल्लाह पाउने किसानले यहाँ किवीको व्यावसायिक खेती गर्न सकिने बताउँछन् ।