बहुदल स्थापनापछि सोलुखुम्बुबाट पहिलोपटक नेकपा एमालेको विजय

मतदातामा पुस्तान्तरणको एजेण्डालाई मतमा बदल्न सफल



२०७९ को आम निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई २७ सय ७९ मतले पछि पार्दै एमाले केन्द्रीय सदस्य मानवीर राई सोलुखुम्बुबाट निर्वाचित भए । सोलुमा ३२ वर्षपछि एमालेले पहिलो पटक जितेको हो ।

 

कुल मत ४० हजार ३ सय ४४ मध्ये एमाले उम्मेदवार राईले १९ हजार ३ सय २४ मत ल्याए भने पूर्वमन्त्री समेत रहेका केसी १६ हजार ५ सय ४५ मतमै सिमित रहे ।

 

७० वर्षीय केसीले अप्रत्यासित पराजय बेहोर्नु परेको हो । ०४८ सालयताका ७ मध्ये ५ वटा चुनावमा बलबहादुर केसीसँगै प्रमुख प्रतिस्पर्धी भएर पराजय बेहोरेको एमालेले २०७९ मा आएर भने सहज जित हात पारेको छ ।

 

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा ५१ हजारभन्दा बढी मत खसेको थियो । अहिले ४० हजार मात्रै मत खस्यो । बाँकी ११ हजार मतदाता सहरबाट जिल्ला नै आएनन् । जिल्ला नआएका ११ हजार मतदातामध्ये ९० प्रतिशत कांग्रेस समर्थित रहेको विश्लेषण हुन थालेको छ ।

Comments Box