सेटिङका लागी ३ दलको निरन्तर वैठक ! – स्वतन्त्र पार्टीको आशङ्का

सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताको बैठकका सम्बन्धमा गम्भीर आशंका व्यक्त गरेको छ । तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भइरहेको हुनसक्ने सो पार्टीको आशंका छ ।

 

आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो ।

 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्न नहुने निष्कर्ष निकालेकाे पनि स्पष्ट पारे ।

उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए । उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए ।

 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लागिपरेको बताए । बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरूको बैठक बसिरहेको र त्यसले संसद्लाई बन्दी बनाउने अशंका उब्जाएको बताए ।

 

उनले बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरू संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको जिकिर गरे । उनले संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्ने बताए ।

 

प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे ।

Comments Box