मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी

३ सय २८ मतान्तरले पराजित गरी निर्वाचित



नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट निर्वाचित भएका छन् । नव निर्वाचित गुरुङ एमालेका प्रतिष्पर्धी निवर्तमान सांसद पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरी निर्वाचित भएका हुन् ।

 

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ५ सय ७५ मत हासिल गरी विजय प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रतिनिधि सभामा निवर्तमान सदस्य पोल्देन छोपाङ गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

 

मनाङ ङिस्याङ गाउँपालिका ८, टंकी मनाङ मा २०११ मंसिर ११ गते जन्मिएका टेकबहादुर गुरुङ ले २०३६ सालमा बीपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएका थिए । १० कक्षा पास गरेका गुरुङ २०७० सालमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री भएका थिए । उन्का बुवा काजी गुरुङ र आमा पुलमा गुरुङ हुन भने सांसद गुरुङका एक श्रीमती, २ छोरा र २ छोरी छन ।

 

प्रदेश सभा सदस्य पदका लागि मनाङ १ बाट नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजङ गुरुङले नेकपा एमालेका राजन गुरुङलाई पराजित गरी विजय प्राप्त गरेका थिए भने निर्वाचन २ मा राजिव गुरुङ सर्वसम्मतिबाट प्रदेशसभा सद्रस्य चयन भईसकेका छन् ।

 

 

मनाङमा ७१ प्रतिशत मत खस्यो

हिमाली जिल्ला मनाङमा ७१.४७% मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा प्रारम्भिक रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

 

जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि मङ्सिर ४ गते भएको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कूल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग योग्य रहेका थिए ।

 

२०७४ को चुनावी नतिजा

२०७४ को निर्वाचनमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रचेको थियो । मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका थिए । त्यसभन्दा अघीका चुनावको परिणाम उल्ट्याउन सफल भएका उनै गुरुङ फेरी उम्मेद्वार बनेका छन।

 

 

पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका थिए ।

 

 

विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत प्राप्त गरेका थिए । खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको थियो ।

 

२०७४ को चुनावमा मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको थियो । त्यतिबेला यहाँ ५ हजार ८ सय ८१ मतदाता थिए ।