हिउँदमा तापक्रम सरदर भन्दा बढी हुने, वर्षा कम हुने

दुई हजार हिमनदीहरू द्रुत गतिमा छोटिँदै



यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ ।

 

यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम र बढी भन्नाले ६६.६ प्रतिशत भन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्युठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु लगायतका उत्तरी जिल्लामा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भू–भागमा सरदर भन्दा बढी तापक्रम हुने सम्भावना रहेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको उक्त विभागले हिउँद अवधि (मङ्सिर १५ देखि फागुन १६ गते) को वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

 

वर्षाको आकलन  

विभागका अनुसार हिउँदमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरीलगायतका पूर्वी तथा तराईका जिल्ला, मधेश प्रदेशका पर्सा, बारा, रौतहटलगायतका पश्चिमी भू–भाग, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका जिल्ला, गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वतलगायतका मध्ये तथा दक्षिणी जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली लगायतका जिल्लामा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

 

यसैगरी सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्ला तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पाको उत्तर–पश्चिमी भू–भाग बाहेक देशका अन्य बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

 

अधिकतम् तापक्रमको आकलन

यसैगरी यस हिउँदमा देशभर अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् कँडेलले बताउनुभयो । कर्णाली प्रदेशको हुम्ला र मुगुका पश्चिमी भू–भाग र सुदूरपश्चिम प्रदेशका बाजुरा जिल्लामा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको तथ्याङ्क छ ।

 

प्रदेश नं १ का सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरी लगायतका दक्षिणी जिल्ला, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, चितवन लगायतका मध्य तथा दक्षिण–पश्चिम जिल्ला, मधेश प्रदेशको पर्सा र सप्तरी, गण्डकी प्रदेशका उत्तर–पूर्वी जिल्ला बाहेकका अधिकांश जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग र कर्णाली प्रदेशका पूर्वी तथा उत्तरी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । बाँकी भू–भागमा अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

 

न्यूनतम तापक्रमको आकलन

यसैगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्युठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखा लगायतका मध्ये तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बुलगायताका उत्तरी जिल्लामा न्यूनतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

 

आकलनको आधार

विभागले यस आकलन विश्व मौसम सङ्गठनको विश्वभर क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूपको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा तयार गरेको हो । साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था तथा जलवायु प्रारूपहरूको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाईसमेत मध्यनजर गरी तयार गरिएको छ ।

 

हाल प्रशान्त महासागरमा ‘लानिना’ अवस्था रहेको देखिएको छ र आगामी हिउँद अवधिमा पनि लालिना कायम रहने आकलन गरिएको छ । त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र हिउँद अवधिभर तटस्थ नै रहने आकलन गरिएको छ ।


२६ कार्तिक २०७९, शनिबार

सगरमाथासहितका विश्वसम्पदा जोखिममा

 विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन् २०५० सम्ममा लोप हुने अवस्था पुगेका छन्।

 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ।

 

 

क्यानडा र अमेरिकाका विश्वसम्पदा क्षेत्र लुआने, वाङ्गेल इलियास, ग्लेसियर बे र तात्सेनसिनी–अल्सेक, अर्जेन्टिनाको लस ग्लेसियर्स राष्ट्रिय निकुञ्ज, न्युजिल्यान्डको ते बाहिपौनामु, स्विजरल्यान्डको स्विस आल्पस जङ्गफ्राउ, डेनमार्कको लुलिसाट आइसजोर्ड, नर्वेको गेराङ्जोर्ड र नर्वेजोर्ड, ताजिकस्तानस्थित पामिरको पहाडमा रहेको ताजिक राष्ट्रिय निकुञ्ज, आइसल्यान्डको भात्नाज्योक्युल नेसनल पार्कसहित दुई राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम गलन उच्च अवस्थामा देखिएको छ। त्यस्तै तान्जिनियाको माउन्ड किलिमन्जरो क्षेत्र, केन्याको राष्ट्रिय निकुञ्ज र वनक्षेत्र, युगान्डाको रुन्जोरी पर्वत राष्ट्रिय निकुञ्ज, कङ्गोको बिरुङ्गा राष्ट्रिय निकुञ्जसँगै अलास्का, मध्यएसिया, मध्ययुरोप र दक्षिण एन्डिज पर्वतछेउका ठूला हिमनदीहरू गरेर ५० वटा विश्वसम्पदा लोप हुने प्रतिवेदनमा उल्लेख गरेको छ।

 

 

हालसालै सार्वजनिक भएको तापक्रम वृद्धिको नयाँ गतिले २ डिग्री सेल्सियस नाघ्ने तथ्य वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ। तर पहिलेको घोषणाअनुसार विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा रोक्न सकेको खण्डमा भने ५० वटा हिमाली विश्व सम्पदामध्ये दुईतिहाइलाई बचाउन सकिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ।

 

 

इजिप्टमा जारी कोप–२७ को सम्मेलनका लागि यो विषय निकै चुनौतीपूर्ण हुने अध्ययनमा उल्लेख छ। लोप हुने यात्रामा अग्रसर ५० वटा विश्वसम्पदा १८ हजार ६०० हिम खण्डमा अवस्थित छन्। जसले कुल ६६ हजार वर्गकिलोमिटर हिमक्षेत्र तथा पृथ्वीको कुल हिमक्षेत्रको १० प्रतिशत भूभाग समेट्छ।

 

 

स्याटेलाइट तथ्यको विश्लेषणमा आधारित अध्ययनले दुई हजार हिमनदीहरू द्रुत गतिमा छोटिँदै गएका छन्। यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष करिब ५८ अर्ब टन बरफ बिलाउँदै गएको छ। जसले समुद्री सतहमा वार्षिक ५ प्रतिशत जलक्षेत्रको बढोत्तरी भइरहेको देखाउँछ। हालकै हिसाबले तापक्रम बढ्दै जाँदा सन् २०५० सम्म ५० वटामध्ये एकतिहाइ क्षेत्र र सन् २१०० सम्म सबै विश्वसम्पदा लोप हुने पूर्वानुमान युनेस्काले गरेको छ।

 

 

सर्वोच्च शिखर सगरमाथा क्षेत्रको छ हजार मिटरको उचाइमा सगरमाथा निकुञ्ज रहेको छ। यसले सोलुखुम्बु जिल्लाको एक लाख २४ हजार चार सय हेक्टर क्षेत्रफल ओगेको छ। सर्वोच्च शिखरसहित सात हजार मिटरमाथिका सात अग्ला हिमचुचुरोका बीचमा रहेको गहिरो उपत्यकामा अवस्थित यो निकुञ्ज विश्वकै सुन्दर विश्वसम्पदा क्षेत्र हो। यो क्षेत्र हिउँचितुवा, हाब्रे (रेडपान्डा),  जङ्गली याकलगायतका दुर्लभ प्राणीको बासस्थान हो। शेर्पा जाति बाहुल्य रहेको क्षेत्र र नेपालको ताजा पानीको मुख्य स्रोत पनि हो।

 

 

युनेस्कोका महानिर्देशक अड्रेअजोले कार्बन उत्सर्जनको स्तर दू्रत रहेकाले हिमनदी र तिनीहरूमा निर्भर असाधारण प्राकृतिक विविधता लोप हुने अवस्थामा पुगेको बताउनुभयो। यसको समाधान कोप–२७ सम्मेलनले खोज्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

 

 

कार्बन उत्सर्जन रोक्न, हिमनदीको अनुगमन र संरक्षण गर्दै विश्वसम्पदा क्षेत्र जोगाउने लक्ष्यमा सबै मुलुकलाई सघाउन युनेस्को तत्पर रहेको उहाँले बताउनुभएको छ। जसका लागि अन्तर्राष्ट्रिय कोष स्थापनाका लागि सघाउन उहाँले आह्वान गर्नुभएको छ। हिउँमा निर्भर यी सम्पदा मात्र नभई पृथ्वीको जनसङ्ख्याको आधा मानव जीविका, कृषि, ऊर्जा उत्पादन पनि निर्भर रहेकाले यी विश्व सम्पदा जैविक विविधताको स्तम्भ र पारिस्थितिक प्रणालीको मुख्य अङ्ग हुन्।

 

 

प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आयूसीएन)का महानिर्देशक डा. बु्रनो ओबरलले जब तीव्र गतिमा हिम गलन हुन्छ, तब लाखौँ मानिसले पानीको अभाव र प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने हुन्छ । समुद्री सतहको बढोत्तरीका कारण लाखौँ मानिस विस्थापित हुनसक्छन्। समस्या समाधानका लागि हरितगृह ग्यास उत्सर्जन कम गर्न, प्रकृतिमा आधारित क्षेत्रमा लगानी गरेर जलवायु अनुकूलनको बाटोमा अग्रसर हुनुपर्ने उहाँको धारणा छ।

Comments Box