सगरमाथा क्षेत्रको ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवा !

५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद



सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन् ।

 

५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन् ।

 

‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,’ उनले भनेकी छन् ।

 

हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ, उनले भनेकी छन् । फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्।


हिउँ चितुवा

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो ।

 

यो दक्षिण एशिया तथा मध्य एशियाका हिमाली क्षेत्रमा पाइन्छ । हिउँ चितुवा नेपालसहित अफगानिस्तान, भुटान, भारत, चीन, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, मंगोलिया, पाकिस्तान र रूसमा पाइन्छ । हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइबीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ ।

 

 

लुकेर रहने स्वभावका कारण यिनीहरूको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन । विश्वभर खुला जङ्गली क्षेत्रमा तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा तथा विश्वका चिडियाघरमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँ चितुवा रहेको अनुमान गरिएको छ । ३ देखि ५ सयको संख्यामा हुनसक्ने सरकारी अनुमान छ । नेपालमा भने यिनको संख्या करिब ४ हजारदेखि ७ हजार ५ सय छ ।

 

हिउँ चितुवाको मुख्य आहार हिमाली भेगमा पाइने नाउर, झारल, ठूलो मुसा, लिँडे मुसासहित याक, चौंरी र घोडालगायतका घर पालुवा जनावर समेत हुन् । हिउँ चितुवाले घर पालुवा जनावर खाइदिने भएकाले हिउँ चितुवालाई मान्छेले मार्ने गरेका छन् । यसले हिउँ चितुवा–मानवद्वन्द्व समेत बढाएको छ ।

 

हिउँ चितुवा पाइने देशमा २३ बासस्थल (भू–दृश्य) पहिचान गरिएको छ । तीमध्ये नेपालमा तीन वटा पर्छन् । पूर्वमा कञ्चनजंघादेखि लामटाङ, मध्येमा मनास्लुदेखि अन्नपूर्ण र पश्चिममा धौलागिरीदेखि अपिनाम्पासम्म पर्छन् ।

 

राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना ( एक्याप ) तथा माउन्टेन स्प्रीड को संयुक्त टोलीले मनाङका विभिन्न क्षेत्रमा हिउँ चितुवा गणना कार्य सम्पन्न गरेको छ । संरक्षण अधिकृत अशोक सुवेदीसहितको टोली ६ जना र अन्य ८ जना गरी १६ जनाको टोलीले मनाङमा क्यामेरा ट्रयापिङ गर्दै हिउँ चितुवा गणनाकार्य सुरु गरेको थियो । सो टोलीले मनाङको नार्पा भ्याली र निस्याङ भ्यालीको पर्वतीयक्षेत्रमा क्यामेरा ट्रयापिङ गरेको संरक्षण अधिकृत सुबेदीले जानकारी दिए । हिमाली जिल्लाको मनाङका ४ वटै पालिकाअन्तर्गत समुन्द्री सतहदेखि ५५ सय मिटरको उचाइमा हिउँ चितुवा अभिलेखिकरण गर्ने उद्देश्यले क्यामेरा ट्रयापिङ गरिएको थियो । हिउँ चितुवासम्बन्धी कार्ययोजनाको प्रोटोकल अनुसार ८÷८ स्क्वायर ग्रीडमा ४ वटा क्यामेरा राखिएको थियो । मनाङको दुईवटा ब्लकमा १ सय ४ वटा क्यामेरा ट्रयापिङ गरिएको हो ।

 

कचनजङ्घा संरक्षण क्षेत्रमा १९ देखि २४ हाराहारीमा हिउँ चितुवा बसोबास गर्दै आएको तथ्याङ्क रहेको सो संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

 

जलवायु परिवर्तनले हिउँ चितुवा र चितुवाबीच भीडन्त

 

Comments Box