असोज ९ गते । सरकारी नीति नियम बन्छन् तर कार्यान्वयन तहमा उल्लङ्घन हुन्छन् भन्ने आमगुनासो छ। त्यस्तो कसरी हुन्छ भन्ने उदाहरण चितवन राष्ट्रिय निकुञ्जको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वन तथा वातावरणमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा शुक्रबार भव्य रूपमा मनाइएको कार्यक्रममा दोहोरो रूपमा कानुन र निर्णयको उल्लङ्घन भयो।
चितवन राष्ट्रिय निकुञ्ज आफैँले २०७५ पुस १७ गते सौराहामा तामझामसाथ भव्य समारोह आयोजना गरी निकुञ्ज क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको थियो। यसका अतिरिक्त २०७९ साउन १२ गते राजपत्रमा सूचना जारी गर्दै ‘नेपालभर प्लास्टिकजन्य फूल–गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय भएको’ जनाइएको थियो। राजपत्र वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जारी गर्नुभएको थियो।
मन्त्रिपरिषद्को बैठकले वन तथा वातावरण संरक्षण ऐन–२०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना जारी गरिएको थियो। यो निर्णय मन्त्री यादवको कार्यकालको पहिलो थियो। तर प्लास्टिक निषेधको यस्तो दोहोरो बाध्यता रहँदारहँदै पनि निकुञ्जले मुख्यालय कसरामै आयोजना गरेको समारोहमा प्लास्टिककै तोरण, ध्वजापताका, फूल, फूलका गुच्छा तथा ध्वजापताका प्रयोगमा ल्याइयो।
ती सबै नियाल्नेमा मन्त्री यादव, निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाल र वन तथा भू–संरक्षण विभागका महानिर्देशक दिनेशमणि त्रिपाठीलगायत हुनुहुन्थ्यो। तर उहाँहरू कसैले पनि निषेधित सामग्रीबाट गरिएको मञ्च सजावटबारे केही उल्लेख गर्नुभएन।
बीस हजारको प्लास्टिक
राजपत्रमा सूचना जारी गर्ने सचिव कँडेल भने समारोहमा अनुपस्थित हुनुहुन्थ्यो। निषेधित प्लास्टिक प्रयोगका लागि निकुञ्ज आफैँले २० हजार रुपियाँ खर्च गरेको छ। तर त्यसको दोष मञ्चको सजावट र व्यवस्थापनको जिम्मा दिएको सङ्गम टेन्ट हाउसलाई लगाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले प्राविधिक त्रुटिका कारण कार्यक्रममा प्लास्टिकका फूल तथा तोरण प्रयोगमा आएको स्वीकार्नु त भयो तर दोष भने पन्छाउँदै भन्नुभयो, “हामीले स्टल तथा स्टेज व्यवस्थापन र शृङ्गारको जिम्मा सङ्गम टेन्ट हाउसलाई दिएका थियौँ। उसलाई प्राकृतिक फूल तथा तोरण राख्न भनिए पनि उसले प्लास्टिकजन्य वस्तु प्रयोग ग¥यो।”
तर सङ्गम टेन्ट हाउसका सञ्चालक कुरेश अहमदले भन्नुभयो, “निकुञ्जले नै आर्टिफिसियल सामग्री मागेको हो। २० हजार रुपियाँको डेकोरेसनमा कसरी नेचुरल फूल राख्न सकिन्छ ?” निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने सबै काम राम्रो उद्देश्यले गरिएकाले यसलाई नकारात्मक सोच्न नहुने दाबी गर्नुहुन्छ। उहाँले भन्नुभयो, “राम्रो उद्देश्यले गरिएको काममा नकारात्मक सोच्न हुँदैन। निकुञ्जले कहिल्यै पनि प्लास्टिकजन्य वस्तुलाई प्रश्रय दिँदैन। अहिलेको त्रुटि प्राविधिक रूपमा भएकाले ठूलो कुरा मान्न हुँदैन।”
लामो समयदेखि प्लास्टिक नियन्त्रण अभियानमा लाग्नुभएका संरक्षणकर्मी अपिल घिमिरे निषेधित वस्तु संरक्षणकर्मीबाटै प्रयोग हुनु नै यसको प्रमाण रहेको बताउनुहुन्छ। “सरकारले नै निषेध गरेका वस्तुहरू प्रयोग गर्नु गलत भयो,” उहाँले भन्नुभयो। पछिल्लो समय आधुनिकताका कारण मौलिकता हराउँदै जाँदा प्लास्टिकजन्य वस्तु प्रयोग बढेको संस्कृतिका अध्येता डीआर पोख्रेलले बताउनुभयो। “कुनै पनि शुभकार्यमा ध्वजापताका फूल राख्ने हाम्रो मौलिक संस्कृति हो। यसरी बनाउँदा बाबियोको डोरीमा आँप, बरपीपलका पात तथा फूल राखेर तोरण बनाइन्थ्यो। अहिले त त्यो सबै बिस्तारै हराएर प्लास्टिककै तोरण, बुके नै प्रयोग गर्न थालियो। यो दुःखद हो,” उहाँले भन्नुभयो।
वन्यजन्तुमा असर
यसरी प्रयोगमा ल्याइने प्लास्टिकजन्य वस्तु जथाभाबी फालिँदा त्यसै नष्ट नहुने र यसले जलचर, वन्यजन्तु र वनस्पतिमै प्रभाव पर्न थालेपछि निकुञ्जमा यसको निषेध गरिएको थियो। निकुञ्ज घुम्न आउने पर्यटकले बढी मात्रामा प्रयोग गर्ने पानीका बोतल, चाउचाउ, कुरकुरेलगायतका वस्तुका खोलले वन्यजन्तुलाई निरन्तर असर गर्न थालेपछि निकुञ्ज क्षेत्रभर प्लास्टिक प्रयोगमा रोक लगाइएको थियो।
कृषि तथा वन विश्वविद्यालयका उपप्राध्यापक एवं पशु चिकित्सक डा. वसन्त आचार्य घाँस खाएर उग्राउने जनावरका चारवटामध्ये एउटा पेटमा प्लास्टिक अड्किए बचाउन गाह्रो हुने बताउनुहुन्छ। “जनावरको पेट तथा आन्द्रामा गएर प्लास्टिक अड्किँदा नपच्ने, पेट फुल्ने र पछि जनावर मर्नेसम्मका घटना हुने गर्छन्,” उहाँले भन्नुभयो। निकुञ्जभित्रै पनि प्लास्टिक खाएर कतिपय गैँडा, जरायो, मृग मरेको उहाँले बताउनुभयो।
सरसफाइ अभियानकर्ता घिमिरे प्लास्टिकले जनावरसँगै जलचरलाई पनि असर गरिरहेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “अहिले नदीमा बढेको प्रदूषण र जलचरमा परेको प्रभाव पनि यही फोहोरको समस्या हो।” चितवनको वनक्षेत्र बाघ र गैँडाजस्ता दुर्लभ वन्यजन्तुको प्रमुख वासस्थान हो।
यो समाचार गोर्खापत्रमा प्रकाशित भएको छ ।