शालिग्राम लोप हुँदै, कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा

अवैध सङ्कलनले पवित्र शालिग्राम लोपोन्मुख अवस्थामा



आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण सङ्कटमा पर्दै जान थालेको छ।हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन्।

 

अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा परेको छ। नदीजन्य पदार्थको अवैध उत्खननले कालीगण्डकी सभ्यतामै समस्या र सङ्कट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँदै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ पौडेलले बताउनुभयो।

कालीगण्डकीमा जल अर्पण गर्दै एक महिला। तस्बिर: सन्तोष गौतम/रासस

 

प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। व्यवसायीले आफू खुशी ढुङ्गा, गिट्टी बालुवा निकाली रहेका छन्। हेभी इक्वीपमेन्ट( डोजर, स्काभेटर) प्रयोग गरेर नदीमा वर्षौंदेखि रहेका ठूला ढुङ्गा निकाल्दा नदीले धार परिवर्तन गरी नदी किनारका बस्तीमा जोखिम बढेको छ। यसले गर्दा सबैभन्दा बढी असर म्याग्दीको सदरमुकाम बेनी र कालीगण्डकी करिडोरअन्तर्गतको बेनी जोमसोम सडकलाई परेको छ।

 

‘माछापुच्छ्रे  गिरिशिखरको पारमा मुक्ति क्षेत्र

बल्छन् बत्ती झलमल जहाँ भुल्भुले मूलभित्र

तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम

काली गङ्गा ! भनन कसरी कुँद्दछ्यौ शालिग्राम ?’

राष्ट्रकवि माधव घिमिरेको चर्चित कविता 

 

 नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सरकारले मापदण्ड बनाएर सोही अनुसार निर्देशित गरे पनि व्यवसायीले दिउँसोको समयमै ठूला मेशिन लगाएर दोहन गरिरहेका पर्वत बगरका इन्द्रबहादुर बरुवालले बताउनुभयो।

 

 जमिनमा एकपटक बसिसकेको ढुङ्गालाई बगिरहेको नदीको बीचबाट निकालेर भारी मेशिन (स्काभेटर)को प्रयोग गरी छियाछिया पारिएको छ। नदी कटान तीव्ररुपमा भइरहेको अवस्थामा नदी उत्खनन र नदीजन्य वस्तुको चोरी निकासी गर्न सजिलो हुने गरी स्काभेटर र टिपर पुर्‍याउन सडकसमेत बनाइएको छ। कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खननको मापदण्डविपरीत नदीको दोहन भइरहेको छ भने सदरमुकामको कालीपुल क्षेत्र थप जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्।

 

 उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको बहानामा नदीको तीव्र बेगलाई रोक्न सक्ने ढुङ्गा निकाल्दासमेत जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि हरेक वर्ष नदीको अस्तित्व सङ्कटमा पर्नुको साथै सौन्दर्यसमेत गुम्दै गएको छ। व्यवसायीले रातको समयमा समेत नदी उत्खनन गर्दै आएका छन्।

 

म्याग्दी, बागलुङ र पर्वत जिल्लाको विभिन्न स्थानमा अहिले दोहन भइरहेको छ। अवैधरुपमा भएको दोहनले नदीको धार परिवर्तन गरेर बस्तीतिर जाने सम्भावना देखिन्छ। मापदण्ड मिचेर नदी दोहन गर्दा म्यागदीको धार्मिकस्थल गलेश्वरधामदेखि सदरमुकाम बेनीबजार र बागलुङको माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरसमेत उच्च जोखिममा पर्न थालेका छन्।

 

मुस्ताङको कागबेनीदेखि देवघाट (तनहुँ, नवलपरासी र चितवनको सङ्गम)सम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रूपमा लिने गरिन्छ । मुस्ताङ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले अवैध रूपमा शालिग्राम सङ्कलन गरेर लैजाने गरेका कारण पछिल्लो समय कालीगण्डकीमा शालिग्राम पाइन छाडेको बताइन्छ ।

 

शालिग्रामको उद्गमस्थल मुस्ताङको दामोदर कुण्ड हो । दामोदर कुण्डको आसपासका पहाडबाट बगेका कालाढुङ्गाले लामो दूरी तय गर्दै खिएर र घोटिएर हजारौँ वर्षपछि शालिग्रामको रूप लिन्छन् । कालीगण्डकी नदी विश्वमै एक मात्र शालिग्राम पाइने नदीमा पर्दछ । हिन्दु धर्मावलम्बीले भगवान् विष्णुको स्वरूप मानेर शालिग्राम पुज्ने गरेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका अङ्गद श्रेष्ठले बताउनुभयो ।

 

भूमिगत सङ्ग्रहालय

कालीगण्डकी नदीमा हुने अवैध सङ्कलनले पवित्र शालिग्राम लोपोन्मुख अवस्थामा पुगेपछि संरक्षणका लागि बागलुङमा सङ्ग्रहालय निर्माण गरिएको छ । विष्णु स्वरूप शिला संरक्षणका लागि बागलुङ नगरपालिका–४, कुँडुलेस्थित भूमिगत सङ्ग्रहालय निर्माण गरी लाखौँ शालिग्राम शिला राखिएर यसलाई तिरुपति बालाजीधाम सङ्ग्रहालय नामकरण गरिएको छ । भू–गर्भभित्र त्रिशूल आकारमा ७६ मिटर लामो सुरुङ निर्माण गरी शालिग्राम सङ्ग्रहालय, त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठ–मन्दिरका आकृति, वृत्तचित्र प्रदर्शनी कक्षलगायतका संरचना निर्माण गरिएको छ ।

मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकीमा मात्रै पाइने सानादेखि तीन सय किलोग्रामसम्मका शालिग्राम संरक्षण गरेर राखिएको छ । स्वामी श्रीधराचार्यको योजनाअनुसार सङ्ग्रहालय तयार गरेको श्रीधराचार्य शालिग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । सङ्ग्रहालयको आन्तरिक आम्दानीबाट १५ लाख रुपियाँको लागतमा संरचना तयार गरिएको हो ।

नेपाली र भारतीय कालिगडद्वारा १० फिट अग्लो र पाँच फिट चौडा रहेको प्रवेशद्वारमा बाघको मुखाकृति तयार गरिएको छ । बागलुङ जिल्लाको नाम बाघसँग सम्बन्धित भएको हुँदा जिल्लाको पहिचानलाई आधार मानेर प्रवेशद्वारमा बाघको आकृति तयार गरेको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । तीन वर्षअघि तयार भएको सङ्ग्रहालयमा एक दशकअघिदेखि सङ्कलित शालिग्राम राखिएको छ । सङ्ग्रहालयको नामकरण गरिएको स्वामी श्रीधराचार्य शालिग्रामको महìवबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षण अभियन्ता हुनुहुन्थ्यो । उहाँको २०५६ सालमा ३९ वर्षको उमेरमा निधन भइसकेको छ ।

 

ठूलो शालिग्राम सेतीवेणीमा 

स्याङ्जाको गल्याङ नगरपालिका–५, सेतीवेणीमा विश्वकै सबैभन्दा ठूलो शालिग्राम रहेको छ । यो शालिग्राम दर्शन गर्न धार्मिक पर्यटकको भीड लाग्ने गरेको गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

 

कालीगण्डकीमा दबेर रहेको उक्त शालिग्राम कुन आकारको छ भन्ने यकिन नभए पनि विश्वकै ठूलो र अन्य ठाउँमा उक्त आकारको नदेखिएको भट्टराईले बताउनुभयो । सेतीवेणीमा रहेको शालिग्रामलाई चारैतर्फबाट संरक्षण गरेर सुरक्षित रूपमा दर्शन गर्न सकिने बनाइएको छ । प्रदेशको केन्द्रबाट नजिकैको गन्तव्यमा रहेको शालिग्रामलाई स्याङ्जा र पर्वत दुवैले आफ्नो जिल्लामा पर्ने दाबी गर्दै आएका छन् । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीमा नदीको बहाव क्षेत्रमै रहेको र कुन जिल्लातर्फबाट संरक्षण गर्ने भन्ने विवादका कारण यसको उचित संरक्षण हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

Comments Box