म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

प्रधानमन्त्रीकै इच्छा गरेको भए २०७४ मै पाँचै वर्षका लागि प्रधानमन्त्री हुन सक्थें



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने प्रतिनिधि सभा चुनावपछि को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै सत्ता गठबन्धनमा छलफल गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

 

अहिले सत्ता गठबन्धनमा चुनावपछि को प्रधानमन्त्री बन्ने भन्नेमा चर्चासम्म पनि नभएको प्रचण्डको दाबी छ।

 

पोखरामा आज पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा आफूहरू नरहेको बताए।

 

‘चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा गठबन्धन र म छैन,’ प्रचण्डले भने।

 

उनले प्रधानमन्त्री बन्ने रेसमा आफू अहिले नरहेको र चुनावपछि के हुन्छ भन्ने अहिले नै थाहा नहुने पनि बताए।

 

प्रधानमन्त्री को हुने भन्ने नटुंगिएका कारण सिट बाँडफाँटमा सहमति नभएको भन्ने विषय पनि सत्य नभएको प्रचण्डले बताए।

 

मैले धेरै पहिलेदेखि भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए २०७४ मै पाँचै वर्षका लागि म प्रधानमन्त्री हुन सक्थें। मेरा लागि त्यो ढोका खुला थियो। तर मैले वाम एकतालाई ठूलो माने र विकास ठूलो भनेर त्यसबेला प्रधानमन्त्री छाडेको हो,’ उनले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने विषयमा हाम्रो छलफल भएको पनि छैन गर्ने पक्षमा पनि अहिले छैन।

 

अहिले पनि प्रधानमन्त्री बन्न चाहने हो भने बन्ने स्थिति छ तर म बन्न हुन्न। देशका लागि फाइदाजनक हुन्न। त्यसकारण म अहिले प्रधानमन्त्रीको रेसमा छैन भनेको छु। अब चुनावपछि के हुन्छ चुनावी परिणामले देखाउँछ।’

 

उनले प्रधानमन्त्री हुने इच्छा गरेको भए २०७४ मा पाँचै वर्षका लागि आफू प्रधानमन्त्री हुन सक्ने दाबी गरेका थिए।

 

तर पार्टी र विकास हेरेर आफू त्यसबेला प्रधानमन्त्री नबनेको प्रचण्डको दाबी थियो।

Comments Box