के सन्दीपले अब क्रिकेट खेल्न पाउँछन्?

१८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था



उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् ।

 

नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने भोलि छुट्दै छन्।

 

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई धरौटीमा छाड्न बिहीबार आदेश दिएका हुन्। उनीसँग २० लाख धरौटी मागिएको छ।

 

यो मुद्दाको किनारा भने लागिसकेको छैन।

 

इजलासले सन्दीपको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भएकाले त्यसलाई दबाब दिन सक्ने अवस्था नभएको, सार्वजनिक शान्तिमा खतरा नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो।

 

१७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका उनलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गरेको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुन: थुनामा पठाइने छन्।

 

नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ, जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ । बाँकी खेलका लागि लामिछानेलाई टोलीमा झिकाउने चन्दले संकेत गरेका छन् ।


१८ कार्तिक २०७९

सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

 

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनलाई केन्द्रीय कारागार जगन्नाथ देवलमा पठाउन आदेश भएको हो।

 

शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्।

 

बिहीबार प्रतिवादी लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए।

 

सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, लवकुमार मैनाली, सबिता भण्डारी बराल र रमणकुमार श्रेष्ठ छन्। अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले पनि बहस गरेका थिए।

 

पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए। चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए।

 

सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरे।

 

पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए।

 

त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए।

 

सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो।

 

सन्दीपविरूद्ध  १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।

 

२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।

 

भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

 

त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।

 

सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

 

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।

 

उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।


२२ भाद्र २०७९, बुधबार

किशोरिको आरोप – “मलाई त्यस रात पटक-पटक बलात्कार गरे”

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ।

 

लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ।

 

लामिछानेले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको जाहेरी आएको प्रहरीको भनाइ छ।

 

लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए।

 

सोही राती आफूमाथि लामिछानेले पटक-पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ।

 

काठमाडौं-९ स्थित एक होटलको ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेले बलात्कार उनले दाबी गरेकी छन्।

 

जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ।

 

घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ।

 

पक्राउ पुर्जी जारी गर्न प्रहरीले अदालतको अनुमति माग्ने

लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ। कानुनी प्रक्रिया पुर्‍याएर प्रहरीले सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी रहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए।

 

विदेशमा रहेका सन्दीप लाई कसरी ल्याउँछ प्रहरिले नेपाल ?

कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।

 

उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ।

 

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले प्रमाण संकलन भएपछि सन्दीपलाई लिग सकिनुअघि नै नेपाल ल्याउन प्रक्रिया थाल्ने/नथाल्ने निर्धारण हुने बताए।

 

‘अहिले हामीले मुद्दा दर्ता गरेर प्रमाणहरू संकलन गरिरहेका छौं। त्यो सकेपछि कसरी अगाडि बढाउने भन्ने टुंगो लाग्छ,’ उनले भने।

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले सन्दीप लामिछानेमाथि निगरानी थालिसकेको बताए। सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्।

 

नेपाल ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीसँग औपचारिक/अनौपचारिक रूपमा काम गर्ने बताए।

 

‘आरोप पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सक्छौं। अर्को इन्टरपोलमार्फत् पनि पक्राउ गर्न सक्छौं,’ उनले भने, ‘नेपालमा भएको भए प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्‍याएर जान्छौं।’

 

अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै जाँदा आवश्यक परेमा इन्टरपोलमार्फत् पक्राउ पुर्जी जारी गर्न सकिने उनले बताए।

 

इन्टरपोलबाट पुर्जी जारी गर्न पनि अदालतको अनुमति माग्नुपर्छ। उनलाई विभिन्न माध्यमबाट पक्राउ गरी नेपाल ल्याउन सकिने   भए पनि कहिले ल्याउने भन्ने टुंगो लागेको छैन।


सन्दीप नै कप्तान

१८ फागुन, २०७८ बाट नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीप लामिछाने नै कप्तान बनेका थिए । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय भएको जानकारी दिएका थिए ।

 

२०७८ मंसिर अन्तिम साता क्यानले अनुशासनको कारबाहीस्वरुप कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । त्यतिबेला आसन्न टी–२० विश्वकप छनोटका लागि भन्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको थियो ।

Comments Box