निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिनुस् – ओली

बुथ कब्जा,बाकस साट्ने र मतपत्र च्यात्नेहरुको सहयोगी नबन्न प्रहरी प्रशासनलाई ओलीको आग्रह



नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

 

शनिवार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन् ।

 

गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराए ।

 

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रशंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्नेमा जोड दिए ।

 

उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे ।

 

अध्यक्ष ओलीले भने, ‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईहरुले राष्ट्रसेवको हैसियतमा निष्पक्ष भुमिका खेल्नुपर्दछ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने,अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु ।’

 

अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुईवटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए । उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए । उनले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गरे ।

 

नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए । उनले अघिल्लो सरकारले ल्याएका आयोजनाहरु कटौती गरेर बेहाल बनाएको दाबी गरे । उनले जात जातलाई भिडाएर आफ्नो दुनो सोझ्याउने प्रयास भइरहेको बताए ।

 

सोही क्रममा उनले भने, ‘एमालेका नेता कार्यकर्ता गड्यौलाजस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ ।

 

कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न् । मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनैपर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’ अध्यक्ष ओलीले मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताले हार्न नहुने बताए ।

Comments Box