बादलसँग आफ्नो तुलनै हुन सक्दैन भन्दै प्रचण्डले भने, ‘ ह्या…! तुलना नै नहुने कुरा नसोध्नुहोस् न’

प्रचण्डले एमालेसँग तालमेल हुन असम्भव रहेको प्रष्ट



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफू चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाटै नै चुनावी प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् ।

 

शुक्रबार प्रशिक्षणका लागि सुर्खेत आएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चितनवन–३ बाहेक अन्य क्षेत्रबाट चुनाव लड्ने कुरा नसोचेको बताए ।

 

उसो भने एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग प्रतिस्पर्धा हुने भयो हैन त ? भन्ने पत्रकारको जिज्ञासामा उनले बादलसँग आफ्नो तुलनै हुन नसक्ने बताए । उनले भने, ‘ ह्या…! तुलना नै नहुने कुरा पत्रकार साथीहरुले नसोध्नुहोस् न ।’

 

साथै प्रचण्डले एमालेसँग तालमेल हुन असम्भव रहेको प्रष्ट पारे । उनले भने,‘ओलीले गरेका प्रतिगमनकारी कुराहरुको छिनोफानो नभएसम्म एमालेसँग तालमेलको कुरा असम्भव छ ।’

 

चितवन नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला हो भने कुनै बेला उनका सहयात्री रहेका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह जिल्ला पनि चितवन नै हो । बादल हाल नेकपा एमालेमा छन् । उनी एमाले उपाध्यक्षसमेत हुन् । चितवन–२ बादलको निर्वाचन क्षेत्र पनि हो ।

 

चितवन–२ बाट उम्मेदवार छान्न एमालेलाई सकस हुने देखिएको छ । माओवादी छाडेर एमालेमा आएका रामबहादुर थापा ‘बादल’ स्वाभाविक रुपमा यो क्षेत्रबाट उम्मेदवार बन्न इच्छुक छन् । पार्टीको उपाध्यक्षको भूमिकामा रहेका कारण पनि उनको दाबी बलियो देखिन्छ ।

 

यद्यपि, एमालेमै लामो समय संघर्ष गरेका नेता पनि यस क्षेत्रबाटै उम्मेदवार बन्न दाबेदारी गरिरहेका छन् । एमालेबाट कृष्णभक्त पोखरेल, काशीनाथ अधिकारी र विजय सुवेदी यो निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न प्रयासरत छन् ।

Comments Box