विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत

निजामती सेवामा ५० हजार दरबन्दी रिक्त



सरकारले विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना तथा कार्यक्रमका लागि आवश्यक दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

 

सरकारकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका राजपत्रांकित अधिकृत तहका ४३१ पदको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत चिकित्सा शिक्षा आयोग र मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना कार्यक्रम र समितिका लागि राजपत्रांकित श्रेणी वा सोसरहका १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाका लागि ५० राजपत्रांकित पदको अस्थायी दरबन्दीसमेत स्वीकृत गरिएको छ ।

 

स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्न अस्थायी पद सृजना गरिएको हो : प्रवक्ता कार्की

सरकारले आफ्नो नेता तथा कार्यकर्ता भर्ती गर्न अस्थायी दरबन्दी सृजना गरिरहेको आरोप खेपिरहेका बेला सरकारका प्रवक्ता कार्कीले भने त्यसको बचाउ गरेका छन् । उनले अस्थायी दरबन्दी स्वीकृत भएकोप्रति आम जनमानसमा भ्रम सृजना गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

 

अस्थायी दरबन्दीमा आफ्ना मनपरेका व्यक्तिलाई नियुक्ति गर्न नभएर स्थायी नियुक्त कर्मचारीबाटै पदपूर्ति गरिने उनलले दाबी गरे ।

 

उनले भने, ‘नयाँ नियुक्ति गर्न नभएर स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्न अस्थायी पद सृजना गरिएको हो । आयोजना, परियोजना तथा कार्यक्रम अस्थायी प्रकृतिका हुने भएकाले स्थायी दरबन्दी सृजना गर्दा आयोजना, परियोजना तथा कार्यक्रमको समाप्तिपछि कर्मचारीको व्यवस्थापनमा जटिलता आउने भएकाले र थप आर्थिक दायित्वसमेत बढ्ने भएकाले स्थायी रुपमा नै कार्यरत कर्मचारीमध्येबाट खटाउने उद्देश्यले आवश्यकताअनुसार दरबन्दी सृजना गर्ने गरिएको हो ।’

 

प्रवक्ता कार्कीले विगतका वर्षमा पनि यस्तो अभ्यास गर्ने गरिएको बताए ।

Comments Box