पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

खुट्टामा गोली लागेको बताइएको छ



रासस/सिन्ह्वा: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते हुनुभएको छ ।

 

उहाँको खुट्टामा गोली लागेको बताइएको छ । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा पूर्व प्रधानमन्त्री खानमाथि गोलीप्रहार भएको हो ।

 

गोली चलेपछि मार्चका क्रममा भाग दौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए । एआरवाई न्युजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो ।

 

पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उहाँसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् ।

 

गोली लागेर घाइते भएकाहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । एआरवाई न्युजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा संलग्न आरोपित एक जनाको मृत्यु भएको छ भने एक जनालाई हिरासतमा लिइएको जनाएको छ ।

 

घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

 

 

 


११ जेष्ठ २०७९, बुधबार

के इमरान खान लागूऔषध दुर्व्यसनी हुन ?

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तरारले पूर्वप्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका छन् । तरारले भने– ‘इमरान खान सुरुदेखि नै लागुऔषधको लत रहेका छन् । सरकारलाई थाहा छ कसले लागुऔषध उनको विलासी घर बनी गालामा पुर्‍याउँछ। इमरान चरेस र कोकिन बिना २ घण्टा बाँच्न सक्दैनन् ।’

 

इमरानमाथि लागूऔषध दुर्व्यसनी भएको आरोप लागेको यो पहिलो पटक भने होइन । २०२० मा, इमरानका नजिकका साथी र पाकिस्तानका पूर्व फास्ट बलर सरफराज नवाजले टिभीमा खुलेर यस्तै आरोप लगाएका थिए । पछि इमरानकी डिभोर्स भइसकेकी दोस्रो पत्नी रेहम खानले पनि उनलाई ड्रग्सको दुर्व्यसनी भनेकी थिइन् ।

 


२७ चैत्र २०७८, आईतवार

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् ।

 

उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई उल्टाएको थियो  । जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो। त्यससँगै अविश्वास प्रस्तावमाथिको छलफलको बाटो पुनः खुलेको थियो ।

 

संसदबाट अविश्वासको प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तानले आज फेरि एक पटक संविधान र कानुनलाई स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।

 

अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बैलावाल भुट्टोले अप्रिल १० अर्थात आजको दिनको ऐतिहासिक महत्त्व भएको बताए । उनले सन् १९७३ को अप्रिल १० मा सदनले संविधान पारित गरेको स्मरण गराए । उनले भने, ‘पुरानो पाकिस्तानमा तपाईंलाई स्वागत छ ।’

 

पूर्व क्रिकेटर खान अगस्ट १८, २०१८ मा पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएका थिए । पाकिस्तान निकै राजनीतिक अस्थिरता हुने देशमध्ये एक मानिन्छ ।

Comments Box