बेसीशहरको सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा

नगरपालिकाको १ र ६ वडालाई यसअघिनै बालमैत्री वडा घोषणा गरिएको छ



लमजुङ, २५ असार: बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को लागि ७७ करोड ५३ लाख ३ हजार बराबरको बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि पारित भएको बजेटमा चालु तर्फ ४१ करोड ९३ लाख र पुँजीगत तर्फ ३५ करोड ६ लाख ३ हजार रहेको छ ।

 

नगर उपप्रमुख पद्मा गुरुङले प्रस्तुत गरेको बजेटमा  आर्थिक विकास तर्फ ६ करोड ९६ लाख ५० हजार, सामाजिक विकास तर्फ ३३ करोड ९३ लाख ८७ हजार, भौतिक पूर्वाधार तर्फ २० करोड १० लाख ८२ हजार, वनवातावरण तथा विपद् व्यवस्थापन तर्फ २ करोड ४६ लाख ५० हजार र संस्थागत विकास तथा सुशानतर्फ १४ करोड ५ लाख ३४ हजार बजेट विनियोजित गरेको छ ।

 

नगरसभाले सामाजिक विकास तर्फ सबैभन्दाबढी बजेट शिक्षा क्षेत्रमा छुट्टाएको छ । नगरपालिकाले शिक्षा तर्फ कूल ३०.३० अर्थात् २३ करोड ४९ लाख बजेट विनियोजित गरेको छ भने दोस्रो प्राथमिकतामा सडक  र तेस्रो प्रथामिकतामा स्वास्थ्य रहेको छ । सडक तर्फ १५ करोड ८६ लाख ७१ हजार अर्थात् २०.४७ प्रतिशत र स्वास्थ्य तर्फ ६ करोड ८ लाख ४५ हजार अर्थात् ७.८५ प्रतिशत बजेट विनियोजित गरेको हो ।

 

नगरसभाबाट कृषि, पशुपालन, उत्पादन र स्वरोजगार क्षेत्रलाई समेत जोड दिइएको छ । सिँचाइ, विद्युत् र ऊर्जा, सूचना प्रविधि तथा सञ्चार, खानेपानी तथा सरफाई, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, न्याय र सामाजिक समावेशीकरण, संस्कृति, कला साहित्य,  पर्यटन, उद्योग वाणिज्य, सहकारी ,श्रम तथा रोजगारी, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा र सुशासनका क्षेत्रलाई समेत बजेटको व्यवस्था गरिएको छ ।

 

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले स्थानीयको आवश्यकतालाई प्रथामिकिरणगरी बजेट निर्माण गरिएको बताए । नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभाका सभासद्हरूको राय, सुझाव र परामर्शलाई मध्यनजर गर्दै बजेट निर्माण गरिएको नगर प्रमुख अर्यालले बताए । नगरसभाबाट विभिन्न ऐन/नियम, लेखा परीक्षण प्रतिवेदन, वडागत, नगरस्तरीय योजना र सशर्त अनुदान तर्फका योजना समेत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलले बताए ।


३ जेष्ठ २०७९, मंगलवार

लमजुङको बेंसीशहरमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी

लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यसअघि नगरपालिकाको प्रमुखमा रहेर काम गरेका गुमानसिंह अर्याल पुनः नगरप्रमुखमा निर्वाचित भएका छन् । अर्यालले ९ हजार ४ सय ७९ मत पाएका छन् । पद्मा गुरुङ उपप्रमुखमा निर्वाचित भएकी छन् । हरिजंग तामाङलाई ४ हजार १५ मतले हराएका पदमाले ८ हजार ७ सय १४ मत पाएका छन् । दुवैजना सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन् ।

२०७४ को स्थानीय तह चुनावमा कांग्रेसका तत्कालीन सभापति भेषबहादुर पौडेललाई २ सय ९७ मतले हराएका गुमानसिंहले यसपटक सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराएका छन् । त्यो वर्ष एमाले–माओवादी केन्द्र चुनावी तालमेल थियो ।

 

गठबन्धनबाट असन्तुष्ट बागी उम्मेदवार कांग्रेसका जीवनकुमार श्रेष्ठले उपप्रमुखमा १ हजार ६ सय १५ मत पाएका छन् । प्रमुखमा राप्रपाका अजितबहादुर अधिकारीले १ सय ४६ मत पाएका छन् । मंगोल नेश्नल अर्गनाइजेशनका कुलुकुमारी गुरुङले ५३ मत पाएकी छन् । जसपाका बलबहादुर रानाले ४३ मत पाएका छन् ।

 

उपप्रमुखमा राप्रपाका मेनुका कार्कीले १ सय ४८ मत र मंगोल नेश्नल अर्गनाइजेशनका पदममाया गुरुङले ४८ मत पाएका छन् ।

 

बेंसीसहर नगरपालिकामा ११ वटा वडा रहेकोमा एमालेबाट वडा नं. १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं. ७ मा ऋषि बस्नेत, वडा नं. ८ मा पवित्रा थापा राना, वडा नं. १० मा गंगाबहादुर थापा र वडा नं. ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं. ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापाले वडाध्यक्षमा जितेका छन् ।

 

सत्ता गठबन्धनबाट कांग्रेसतर्फ वडा नंं ४ मा गमबहादुर गुरुङ र वडा नं. ९ मा खुसीजंग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Comments Box