मधेश प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि

सबै जिल्लामा चार–चारवटा प्रतिनिधिसभा र आठ–आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र



मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी मङ्गलबार दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र नं ४ मा मतगणना सुरु भएसँगै प्रदेशका सबै निर्वाचन क्षेत्रको मतगणना भइरहेको मधेश प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।

 

मधेस प्रदेशका धनुषा, सप्तरी, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी र बारासहित सबै जिल्लामा चार–चारवटा प्रतिनिधिसभा र आठ–आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

 

यहाँका ३२ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस आठ, नेकपा (एमाले) छ, स्वतन्त्र उम्मेदवार पाँच, जनता समाजवादी पार्टीका उम्मेदवार पाँच, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी दुई–दुई स्थानमा अगाडि रहेका छन् ।

 

नेपाली कांग्रेसबाट सिरहा–१ मा पदमनारायण चौधरी, रौतहट–४ मा देवप्रसाद तिमलसेना, महोत्तरी–४ मा महेन्द्रकुमार राय, सप्तरी–३ मा दिनेशकुमार यादव, सप्तरी–४ तेजुलाल चौधरी, पर्सा–२ अजयकुमार चौरसिया, पर्सा–३ सुरेन्द्रकुमार चौधरी र पर्सा–४ मा रमेश रिजाल अगाडि हुनुहुन्छ ।

 

एमालेका आठ उम्मेदवारले पनि प्रदेशका विभिन्न आठ क्षेत्रमा अग्रता लिइरहेका छन् । यहाँ एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, धनुषा–२ मा उमाशङ्कर अरगरिया, धनुषा–४ रघुवीर महासेठ, सिरहा–३ मा लीलानाथ श्रेष्ठ, बारा–१ मा अच्युतप्रसाद मैनाली र महोत्तरी–१ मा लक्ष्मी काइतो कोइरी अगाडि हुनुहुन्छ ।

 

यसैगरी, माओवादी केन्द्रका दुई उम्मेदवारले अग्रता लिइरहनुभएको छ । सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्रराय यादव, सर्लाही–३ मा नरेन्द्र साह कलवारले अग्रता लिइरहनुभएको हो । एकीकृत समाजवादीबाट पनि रौतहट–१ मा पार्टी अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नं ४ एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ अगाडि हुनुहुन्छ ।

 

मधेश आन्दोलनका मुख्य दलहरूमध्ये जनता समाजवादी पार्टी (जसपा)बाट सिरहा–४ वीरेन्द्रप्रसाद महतो, सप्तरी–१ मा नवलकिशोर साह सुडी, पर्सा–१ मा प्रदीप यादव, धनुषा–१ मा दीपक कार्की र बारा–३ मा रामबाबुकुमार यादवले अग्रता लिइरहनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ रामप्रकाश चौधरीले अग्रता लिइरहनुभएको छ भने जनमत पार्टीबाट सप्तरी–२ मा पार्टी अध्यक्ष सिके राउत र सिरहा–२ मा विनोदकुमार यादव अगाडि हुनुहुन्छ ।

 

मधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पाँच जना स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहनुभएको छ । महात्तरी–३ मा रामआधार कापर, रौतहट–२ मा किरणकुमार साह, रौतहट–३ मा प्रभु साह, सर्लाही–४ मा अमरेशकुमार सिंह र बारा–२ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव अग्रस्थानमा हुनुहुन्छ ।

 

महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार आठ सय ९३ मतसहित अग्रता लिइरहँदा ठाकुरले एक हजार पाँच सय ४५ मत प्राप्त गर्नुभएको छ ।

 

यसैगरी, सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउत २२ हजार दुई सय ६० मत प्राप्त गर्दा यादव ११ हजार तीन सय २३ मतसहित पछाडि हुनुहुन्छ ।

 

यसैगरी सर्लाही–२ मा लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो सत्ता गठबन्धनकै उम्मेदवार महेन्द्र राय यादवसँग प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ रायले दुई हजार तीन सय ४२ र महतोले एक हजार सात सय १५ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्ण पर्सा–१ मा प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ जसपाका प्रदीप यादव नौ हजार छ सय ३४ मतसहित अग्रस्थानमा हुँदा कर्ण पाँच सय २८ मतसहित चौथो स्थानमा हुनुहुन्छ । यसैगरी, लोसपा नेता अनिल झा धनुषा–३ मा एमाले उम्मेदवार जुलीकुमारी महतोभन्दा पछाडि हुनुहुन्छ । यहाँ महतोले सात हजार पाँच सय ४४ र झाले छ हजार एक सय ६० मत प्राप्त गर्नुभएको छ ।

 

यसैगरी, नेकपा (माओवादी केन्द्र) उपमहासचिव मात्रिका यादव धनुषा–१ मा तेस्रो नम्बरमा हुनुहुन्छ । यहाँ जसपा उम्मेदवार दीपक कार्कीले तीन हजार ६० ल्याउँदा यादवले एक हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

Comments Box