लोसपा नेता अरगरिया सहित थुप्रै अरु नेता एमाले प्रवेश गर्ने

लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्



लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर हालसम्म लोसपामा राजीनामा दिएको छैन ।’ राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।

 

‘लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्, उनीहरुको बीचमा छलफल चलिरहेको छ, कहिले राजीनामा दिने, कसरी दिने विषयमा छलफल भइरहेको  छ’, उनले बताए ।

 

लोसपा किन छाड्न लाग्नु भएको हो भन्ने जिज्ञासामा उनले पार्टीमा राजीनामा दिएपछि मात्र विस्तृतमा जानकारी गराउने प्रतिकृया दिए । ‘पार्टी छाड्नुपर्ने कारण थुप्रै छन् तर अहिले लोसपाबाट राजीनामा नदिएको कारणले ती कुराहरु उजागर नगर्ने मिल्दैन । एक दुई दिनमा सबै कुरा बाहिर  ल्याउँछु’, उनले भने ।

 

कांग्रेसबाट राजनीति सुरु गरेका अरगरिया मधेश आन्दोलनपछि मधेश राजनीतिमा प्रवेश गरेका थिए । तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर उनी मधेसको राजनीतिमा सक्रिय भएका थिए ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि अरगरिया पनि सो पार्टी छाडेका थिए । गच्छदार काँग्रेससँग एकीकरण गरेपछि उनी पुनः उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गरेका थिए ।

 

२०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा–२ बाट चुनाव जितेका अरगरिया जसपा विभाजन हुँदा महन्थ ठाकुरलाई साथ दिएका थिए । महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेका थिए । ओली नेतृत्वको तत्कालिन सरकारमा जसपाको महन्थ ठाकुर पक्षका १० जना मन्त्री बनेका थिए, त्यसमध्ये एक अरगरिया पनि थिए ।

 

पछिल्लो समय लोसपाको संगठन निर्माण र सो पार्टीको गतिविधिप्रति उनी असन्तुष्ट रहेका थिए । ‘जसपा गठन भएको एक वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म केन्द्रीय समिति बनेको छैन । पार्टीमा कार्यकारिणी समिति छ । त्यसको पनि बैठक बस्दैन । पार्टीभित्रका पाँचजना (महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ सुक्ला) ले जे गर्छन् त्यही हुन्छ । अन्य नेताहरुसँग कुनै सरसल्लाह तथा सोधपुछ छैन’ उनले गुनासो गरे ।

 

स्रोतका अनुसार उनले लोसपामा परिवार वाद हावी भएको गुनासो गर्दै आइरहेका छन् । आगामी चुनावका लागि महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाई, शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गरेका छन् । उनीहरु पार्टीका नेताहरुको चिन्ता छाडेर आआफ्नो परिवारका सदस्यलाई कसरी सांसद बनाउने चिन्ता गरिररहेको भन्दै अरगरियले पार्टीभित्र गुनासो गर्दै आएका थिए ।


९ जेष्ठ २०७९, सोमबार

मधेशमा माओवादीलाई ठूलो धक्का, एमाले पाँचौं बाट तेस्रो शक्ति

सिरहाका एमाले नेताहरू चुनावी नतिजाकै कारण उत्साहित छन् । अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएपछि अहिले विजय सभामा जिल्ला नेताहरू व्यस्त छन् । ‘जनताको भावनालाई सधैं सम्मान गर्‍यौं । अप्ठ्यारो परिस्थितिमा साथ दियौं । यसपटक जनताले हामीलाई साथ दिए’, एमाले जिल्ला सचिव उग्रनारायण यादव भन्छन् । भर्खरै पार्टी विभाजन भएको र सत्तारुढ दलहरुले केन्द्रबाटै गठबन्धनको निर्णय गरेकाले सिरहाका एमालेलाई ०७४ कै उपलब्धि जोगाउन मुस्किल थियो । तर ०७४ मा चार सिटमा खुम्चिएको एमालेले यसपटक दोब्बर भन्दा बढी ९ स्थानीय तहमा जितेको छ । ‘सपना बाँड्नेहरूले बोलेको कुरा पूरा गरेनन् । जनताले पनि भ्रम बाँड्नेहरु चिनिहालेँ’, एमालेका सिरहा इन्चार्ज गंगा यादव भन्छन् । एमालेको जित असली जनप्रतिनिधि चयनको नतिजा भएको उनी बताउँछन् ।

 

 

उग्रनारायण यादवले  भगवानपुर गाउँपालिका अध्यक्ष जितेका छन् । भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा उनले जनता समाजवादी पार्टी (जसपा) का जिल्ला उपाध्यक्ष बेचनप्रसाद यादवलाई पराजित गरे ।बेचनले तीन हजार २३९ मत पाउँदा उनले चार हजार ३०२ मत ल्याएर जिते । भगवानपुर नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको गृह पालिका समेत हो । तर ५ मध्ये ४ वडासहित एमालेका उग्रनारायण अध्यक्ष निर्वाचित भए ।

 

०६३ सालमा उपेन्द्र यादव नेतृत्वको मधेश आन्दोलन सिरहाको लहानबाट सुरु भएपछि एमालेका स्थानीय नेताहरुले ठूलै संकट खेपेका थिए । सशस्त्र विद्रोहबाट उदाएको माओवादीको प्रभाव बढिरहँदा अझ चर्को नारासहित उपेन्द्र यादवले मधेश आन्दोलन चर्काए । मधेश आन्दोलनको प्रभावमा एमाले कमजोर बन्यो । सिरहाबाटै चर्किएको मधेश आन्दोलनको बलमा उपेन्द्र यादव पटकपटक सत्तामा गइसके । माओवादी केन्द्रको समेत बलियो पकड रहेको बुझाइले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०७० को दोस्रो संविधानसभाको चुनाव लड्न सिरहा गए, जिते पनि । ०७४ को स्थानीय चुनावसम्म पनि माओवादी केन्द्र सिरहामा बलियो थियो । १७ मध्ये उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी र माओवादी केन्द्रले ६/६ स्थानीय तह जितेको थियो ।

 

तर यसपटक भगवानपुरसहित नरहरा गाउँपालिका, विष्णुपर गाउँपालिका, सुखीपुर नगरपालिका र कर्जन्हा नगरपालिकामा जसपाकै उम्मेदवार हराउँदै एमालेले जितेको छ । सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका र धनगढी नगरपालिकामा पनि एमाले उम्मेदवार विजयी भए ।

 

सिरहामा एमालेबाट नवीनकुमार यादवले ११,१४३ मत ल्याएर मेयर जित्दा कांग्रेसका उपेन्द्रकुमार यादवले ८,७२० मत ल्याए । कर्जन्हामा जसपाका केशवप्रसाद साहले ३,२२३ मत ल्याउँदा एमालेका भोलाप्रसाद पोखरेलले ३,८३९ मत ल्याएर मेयर जिते । सुखीपुर नगरपालिकामा जसपाका जीवछ यादव (३,११२ मत) लाई हराउँदै एमालेका रामऔतार यादव (४,४३४ मत) मेयर बने । कल्याणपुरमा कांग्रेसका धर्मनाथ यादव (५,३५३ मत) लाई हराउँदै एमालेका राम पुकार साह तेली (५,८८३ मत) विजयी भए । धनगढी नगरपालिकामा शिवशंकर महतोले (७,०५६ मत) कांग्रेसका रामचन्द्र यादवलाई (६,९०१ मत) लाई हराए । यादव कांग्रेसका जिल्ला सभापति हुन् भने महतो एमालेका जिल्ला उपसचिव हन् । विष्णुपुर गाउँपालिकामा एमालेका सत्यनारायण यादवले २,१५८ मत ल्याएर जसपाका जागेश्वर यादव (२,११७ मत) लाई पराजित गरे । नरहरा गाउँपालिकामा जसपाकै कौशल मण्डल (२,५१७ मत) लाई हराउँदै एमालेका रामप्रमोद यादव (२,६९५ मत) अध्यक्ष निर्वाचित भए ।

 

मधेश प्रदेशमा भने कांग्रेस नै पहिलो दल बनेको छ । १३६ मध्ये कांग्रेसले ४४ सिट जितेर पहिलो शक्ति बन्यो । ०७४ को चुनावबाट पनि पहिलो शक्ति रहेको कांग्रेसले ४० सिट जितेको थियो । त्यसबेला १८ स्थानीय तह मात्रै जितेर एमाले पाँचौं शक्तिमा सीमित बनेको थियो । यसपटक भने ८ स्थानीय तह बढी जितेर तेस्रो शक्ति बनेको छ । एमालेले सप्तरीमा ९, पर्सामा ५, बारामा ४, धनुषामा ३ र सप्तरीमा २ स्थानीय तह जितेको छ । महोत्तरी, सर्लाही र रौतहटमा एक÷एक स्थानीय तह जितेको छ । अर्थात् सिरहाले ०७४ भन्दा ५ स्थानीय तह बढी जितेकाले एमालेको अवस्था सुधार देखियो ।

 

०७४ को चुनावमा मधेश प्रदेशका आठ जिल्लाबाट २५ स्थानीय तह जितेको माओवादी यसपटक ९ स्थानीय तहमा खुम्चिएको छ । पटकपटक मन्त्री भएका गिरिराजमणि पोखरेलकै जिल्ला महोत्तरीमा माओवादी केन्द्रले एक पालिका पनि जित्न सकेन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि यसपटक आधा बढी सिट गुमाएको छ । ०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) का नामबाट चुनाव लडेको लोसपाले २५ स्थानीय तह जितेकामा यसपटक १२ मात्रै जितेको छ ।

 

पृथकतावादी आन्दोलन त्यागेर मूलधारको राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले चर्चा अनुसार जित्न सकेन । सप्तरीको बिहुल बलान गाउँपालिका र हनुमान नगरपालिकाको प्रमुख जनमत पार्टीले जितेको छ ।


३ बैशाख २०७९, शनिबार

ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली

सर्लाही, ३ वैशाख: आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् ।

 

विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।

 

२०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी गरे ।

 

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीले बताए ।

 

जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।

 

उनले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे । फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन् ।

Comments Box